सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा विपदबाट ५ करोड बढीको क्षति, २७ जनाको मृत्यु

२०८१ कार्तिक २६, १०:३३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदबाट पाँच करोड २० लाख मुल्यको धनमाल नष्ट भएको अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको साउनदेखि कार्तिक तेस्रो सातासम्म प्राकृतिक विपदका घटनाबाट पाँच करोड १९ लाख ९१ हजार मुल्यको धनमाल नष्ट भएको अनुमान गरिएको हो। सो अवधिमा पहिरोबाट ६ लाख २५ हजार मुल्यको धनमाल नष्ट भएको छ। चार महिनामा पहिरोका ५१ घटना घटेका छन्। पाँच महिलासहित ६ जनाको मृत्यु भएको छ।

पहिरोबाट १७ जना घाइते भएका छन भने एक सय १६ परिवार प्रभावित बन्न पुगेका थिए। सो अवधिमा १४ वटा चट्याङका घटना घटेका छन्। चट्याङबाट तीन महिला र २ पुरुषको मृत्युसमेत भएको छ। चट्याङबाट १० लाख ५० हजार मुल्यको धनमाल नष्ट भएको छ। यस्तै आगलागीका ३३ घटना घटेका छन्।

आगलागीबाट एक महिलाको मृत्यु नै भएको छ। आगलागीबाट सबैभन्दा बढी चार करोड ८० लाख ८१ हजार मुल्यको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालक केन्द्रको अनुमान छ। यस्तै हावाहुरीबाट ७ लाख, भारी वर्षाबाट १२ लाख ६० हजार, अन्य विपदबाट २ लाख २५ हजार र जंगली आगलागीबाट ५ हजार मुल्यको क्षति भएको केन्द्रले जनाएको छ। विपदका घटनाबाट सो अवधिसम्म ११ पुरुष र १६ महिला गरेर २७ जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस