सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झोलुङ्गे पुलको वारी र पारी सवारी कर असुली

२०७६ असार ७, ०३:१२ खबर संवाददाता

कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणबाट विभिन्न बहानामा कर असुलिरहेको पाईएको छ। जिल्लाको भीमदत्त र महाकाली नगरपालिका लगायतका स्थानीय तहले विभिन्न बहानामा सर्वसाधारणबाट कर असुलिरहेका हुन्। स्थानीय तहहरुले आफ्नो क्षेत्रमा आवातजावत गर्ने साईकल, मोटरसाईकल, बस लगायतका सवारी साधनबाट पट्के सवारी कर शिर्षकमा रकम असुलिरहेका छन्।

कञ्चनपुरको महाकाली नगरपालिका स्थायी घर भई धनगढीमा व्यवसाय गर्दै आएका विरेन्द्र भण्डारीले शुक्रबार महाकाली झोलुङ्गे पुलमा मोटरसाईकलको पट्के कर भन्दै २० रुपैया असुलेको बताए। उनले झोलुङ्गे पुलको पारी पट्टी बसेका व्यक्तिहरुले सडक कर भन्दै आफूबाट रकम असुलेको दिनेश खबरलाई बताए। भण्डारीले यातायात व्यवस्था कार्यालयमा वर्षेनी सवारी साधन कर तिर्दै आएपनि स्थानीय तहले विभिन्न बहानामा दोहोरो कर असुलिरहेको आरोप लगाए।

महेन्द्रनगरका अर्का स्थानीय लक्ष्मण दत्त जोशीले झोलुङ्गे पुल भएर आवातजावत गर्दा वारी भीमदत्त नगरपालिका र पारी महाकाली नगरपालिकाले सवारी कर भन्दै रकम असुल्ने गरेको बताए। उनले नगरपालिकाको कर आतंकले आफूहरुलाई हैरान बनाएको बताए। स्थानीय तहहरुलाई सवारी कर उठाउने अधिकार नभएपनि कार्यपालिका बैठकमा गरिएको निर्णयका आधारमा उनीहरुले सर्वसाधारणबाट जथाभावी शुल्क असुलिरहेका हुन्।

महाकाली नगरपालिकाका सूचना अधिकारी रघुनाथ भट्टले कार्यपालिका बैठकले गरेको निर्णयको आधारमा ठेक्का दिएर संकलन भइरहेको जनाए। यस्तै भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले विगतमा बनेको ऐनमा टेकेर नगर क्षेत्रमा सवारी साधनबाट कर उठाइरहेको बताए। उनले स्थानीय सरकार सञ्चालन ऐनमा उक्त प्रावधान नभएका कारण आउँदो वर्षबाट कर उठाउन बन्द गरिने समेत बताए।

यता यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख गम्भीरसिह विष्टले पनि साना तथा ठुला सवारी साधनबाट स्थानीय तहहरुले कर उठाउन नपाउने बताए। उनले यातायात व्यवस्था कार्यालयले वार्षिक रुपमा सवारी साधनबाट कर लिदै आएकोमा दोहोरो कर असुल्न कानून विपरीत भएको जनाए।   
 
 
 
  
 

कमेन्ट लोड गर्नुस