यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपालसँग थाइल्याड पराजित
युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ। नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको हो।
नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो। एक सय ४० रनको लक्ष्य पछ्याएको थाइलैण्डको पारी १६ ओभरमा ३३ रनमा समेटियो। ब्याटिङ गर्ने क्रममा नेपालका लागि साना प्रविनले ५३, सावित्री धामीले २८ तथा सोनी पाख्रिनले १९ रन बनाइन्।
एक सय ४० रनको लक्ष्य पछ्याउने क्रममा थाइलैण्डका लागि कुनै पनि बयाटरले दोहरो अङ्कामा रन बनाउन सकेनन्। बलिङतर्फ नेपालका लागि कुशुम गोदारले तीन, रिया शर्मा र रचना चौधरीले दुई दुई तथा पूजा महतोले एक विकेट लिइन्। गत बुधवारदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो।
उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालले आफ्नो दोस्रो खेल बिहीवार कुवेतसँग खेलेको थियो। उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो। यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग १३ रनले पराजित भएको थियो।
नेपालले आफ्नो पाँचौँ खेल अब मङ्गलवार कुवेतसँग खेल्ने छ। प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ।