विष्णुराज बुर्लाकोटीको अध्यक्षतामा १२ सदस्यीय बिउ व्यवसायी संघ चयन
धनगढीः विष्णुराज बुर्लाकोटीको अध्यक्षतामा नेपाल बिउ व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ।
आइतवार धनगढीमा सम्पन्न छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट बुर्लाकोटीको नेतृत्वमा १२ सदस्यीय प्रदेश समिति चयन भएको हो। समितिको प्रथम उपाध्यक्षमा लोकराज पाण्डे, द्वितीय उपाध्यक्षमा पुष्पराज भट्ट, महासचिवमा लोकेश भट्ट र कोषाध्यक्षमा लक्ष्मण न्युरे सर्वसम्मत चयन भएको महासचिव लोकेश भट्टले बताए।
यसैगरी समितिको सचिवमा भिम न्युरे तथा सदस्यहरूमा गोविन्द भट्ट, रमेश घिमिरे, नरेश खड्का, अनुप बम, सन्तोष भट्ट र प्रमोद जघमगर चयन भएको महासचिव भट्टले बताए। धनगढीमा सम्पन्न छैटौं वार्षिक साधारण सभा निवर्तमान प्रदेश अध्यक्ष लोकराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो।
साधारण सभामा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, प्रदेश सचिव यज्ञराज जोशीको समेत उपस्तिथि रहेको थियो। साधारण सभामा सुदूरपश्चिमका बिउ व्यवसायीहरूको सहभागिता रहेको थियो।
साधारणसभामा नेपाल बिउ व्यवसायी संघका पूर्व अध्यक्ष लक्ष्मीकान्त ढकालले बिउको उत्पादन, अवस्था र सरकारी तथा निजी क्षेत्रले खेल्नुपर्ने भूमिकाको बारेमा प्रस्तुति गरेका थिए। साधारण सभामा निवर्तमान महासचिव ईश्वरप्रसाद खनालले संघको वार्षिक प्रतिवेदन पेश गरेका थिए।