यु–१९ महिला टि–२० विश्वकपमा युएईसँग नेपाल पराजित
युएईमा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ। युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा घरेलु टोली युएईले नेपाललाई १३ रनले हराएको हो।
युएईले दिएको एक सय २२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय नौ रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन्। उनले ४३ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ४८ रन बनाएकी हुन्।
साना प्रवीण र सोनी पाख्रिनले समान १९÷१९ रन बनाए। ज्योत्स्निका मरासिनीले ११, सावित्री धामीले ७ र एलिशाकुमारी यादवले तीन रन बनाइन्। यो खेलमा नेपालले अतिरिक्त तीन रन पाएको छ। युएईका लागि इन्धुजा नन्दकुमार, लावन्या केनी र मेहक ठाकुरले समान १÷१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो। एसिया छनोटमा नेपालको यो पहिलो हार हो। यसअघि नेपालले दुई खेल जितेको थियो। शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ।