बडायक दम्पती हत्यामा फेला पर्यो कुनै ‘क्लु’? यस्तो छ प्रहरी जवाफ
वीरेन्द्र भट्ट, धनगढीः कञ्चनपुरमा बडायक दम्पतीको हत्या भएको एक महिना पुग्नै लाग्यो।
यही कार्तिक ८ गतेराति जिल्लाको लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। तर हत्या कसले, किन गर्यो भन्ने प्रहरीले अहिलेसम्म भेउसम्म पाउन सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशी नेतृत्वमा घटनाको अनुसन्धान भइरहेपनि कुनै क्लु फेला पर्न सकेको छैन।
प्रहरीले अहिलेसम्म एक सय जनासँग सोधपुछ गरिसकेको छ। बडायक दम्पती हत्याको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो। तर हत्याको विषयमा प्रहरीले कुनै क्लु पत्ता लगाउन सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर डम्बरदत्त भट्टका अनुसार घटनाको अनुसन्धानका लागि एसपी, केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) लगायत टोली खटिएको छ।
तर घटनाको विषयमा अहिलेसम्म कुनै क्लु पत्ता लाग्न नसकेको उनले बताए। उसो त घटनाको अनुसन्धान गर्न यता प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रविन्द्र केसी पनि घटनास्थलमा पुगेका थिए। उनले अनुसन्धान नतिजानजिक पुगेको दाबी नै गरेका थिए। तर आजको मितिसम्म अनुसन्धानको नतिजा शून्य देखिएको छ। घटनास्थलमा प्रहरी उच्च अधिकृतदेखि नेता सांसदसम्मै पुगेको भए पनि अनुसन्धानको नतिजा शुन्य छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाहीले घटना अनुसन्धानकै क्रममा रहेको बताए। ‘घटनाको विषयमा अहिले पनि अनुसन्धान जारी नै छ।’ उनले भने, ‘जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी जोशीको नेतृत्वमा घटनाको सुक्ष्म रुपमा अनुसन्धान भइरहेको छ।’ तर डिएसपी जोशी भने परीक्षा दिन नेपालगन्ज गएका छन्।
पसल चलाउँथे बडायक दम्पती
बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए। गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरासहितको नास्ता पसल चलाउँथे। गाउँको घरमा परिवारका सदस्य बस्दै आएका थिए भने पसल रहेको घरमा बडायक दम्पती मात्रै बस्ने गरेका थिए। पसल रहेको घर पनि बडायक दम्पतीकै हो। तर, एकाएक बडायक दम्पती मृत फेला परे।
रमेशको शव आँगनमा भेटियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो। अनुसन्धानले छिट्टै नतिजा दिने अनुसन्धानमा खटिएका प्रहरीले दाबी गरे पनि कुनै अत्तोपत्तो लागेको छैन्। घटनामा संलग्नको नजिक पुगिसकेको प्रहरी दाबी पनि केबल दाबीमै सिमित बन्न पुगेको छ।