सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘हरियाली प्रवर्धन’ गर्न १३ हजार ६ सयको संख्यामा वृक्षारोपण

२०८१ कार्तिक २४, ०९:२७ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले ‘हरित धनगढी’ अभियान अन्तर्गत हालसम्म १३ हजार ६ सय सातवटा बिरुवा सडक क्षेत्रमा मात्र लगाएको छ।

हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाले २३ जातका बिरुवा लगाएको छ। धनगढीका सडक क्षेत्रमा फल लाग्ने पाँच जातका बिरुवा लगाइएको छ। बाँकी फूल तथा हरियालीका लागि वृक्षारोपण गरिएको छ। उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख कृष्ण जोशीले सडकहरूमा वृक्षारोपणको काम जारी रहेको बताए।

उनले बिरुवाको संरक्षणसमेत उपमहानगरपालिकाले गर्दै आएको बताए। धनगढीलाई हरियाली प्रवद्र्धन गर्ने र पर्यावरणमैत्री बनाउने उद्देश्यले ‘हरित धनगढी’ अभियानअन्तर्गत गत आर्थिक वर्षसम्म पाँच हजार पाँच सयको संख्यामा ट्रि–गार्डसहित वृक्षारोपण गरिएको छ। हरियाली धनगढी प्रवद्र्धन कार्यक्रम २०७९ फागुनबाट सुरु गरेको उपमहानगरपालिकाले सडकका मिडियन तथा सडक दायाँबायाँ वृक्षारोपण गरेको हो।

वृक्षारोपणका लागि वृक्षारोपण मात्र नभएर उपमहानगरपालिकाले रोपिएका बिरुवाको सुरक्षाका लागि ट्री–गार्ड, तारजाली लगाउने र आवश्यकताअनुसार मल तथा सिँचाइको पनि व्यवस्था गरी नियमित हेरचाह गर्दै आएको छ। उपमहानगरपालिकाले कर्मचारी तथा नगर प्रहरी नै खटाएर बिरुवाको संरक्षण गर्दै आएको छ।

उपमहानगरपालिकाले हालसम्म मोहनापुल–अत्तरिया ६ लेन सडक, चौराह–कैलाली पुल सडक, धनगढी–खुटिया सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्गको फूलबारीसम्म, धनगढी विमास्थल सडक, धनगढी चक्रपथ सडक, क्याम्पसरोड, कबर्डहल क्षेत्र र मोहना आर्यघाट क्षेत्रमा ट्री–गार्डसहित वृक्षारोपण गरेको छ। छतिवन, जारुन, एलिसा, कल्सी, सगर, अलमोडा, साइपस, धुपी, असारे, सिरिस, चम्पा गरेर २३ जातका बिरुवा लगाइएको छ।

पाँच जातका बिरुवाले फल दिने उपमहानगरपालिकाले बताएको छ। उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख जोशीले बिरुवाको संख्या बढ्दै गएको बताए। वृक्षारोपण कार्यक्रमलाई उपमहानगरपालिकाले ‘हरित धनगढी’ नाम दिएको छ। ट्री–गार्डमा कुनै संघ–संस्था तथा व्यक्तिले आफ्नो नाम राख्न चाहेमा उपमहानगरपालिकाले प्रति ट्री–गार्ड पाँच हजार रुपैयाँ लिने गरेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस