सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेसहाराका लागि ‘सहारा घर’

२०८१ कार्तिक २३, ०५:१५ रासस

कैलालीः कैलालीको बौनियामा रहेको सहारा घर बेसहाराकालागि आश्रयस्थल बनेको छ।

२०७२ मा बलबहादुर विष्टले आश्रयको खोजी गरिरहेका बेसहारालाई सहारा दिने उद्देश्यले स्थापना गरिएको ‘सहारा घर’ आज सडक मानवका लागि महत्वपूर्ण आश्रयस्थल बनेको हो। परिवार र समाजबाट अपहेलित भएर पागलको संज्ञा पाएका सयौँ बेसहाराहरू सहारा घरको सहयोगमा सामान्य जीवन निर्वाह गर्न सफल भएका सहारा घरका संस्थापक संरक्षक बलबहादुर विष्टले बताएका छन्।

‘परिवार र समाजले नचिनेका सबै क्षेत्रबाट अपहेलनामा परेकालाई सहारा दिने उद्देश्यले यो घर स्थापना गरेका हौँ”, उनले भने २०७२ देखि हालसम्म सडकबाट उठाएर ल्याइएका चार सय पाँच जनाको उपचारपछि निको भएर पारिवारिक मिलन गराएका छौँ। सहाराका लागि ल्याइएका ३८ जनाले यही घरमा देह त्याग गरेका भन्दै विष्टले देह त्याग गरेकाको सम्झनामा ‘सहारा शान्ति वाटिका’ निर्माण गरिएको जानकारी दिए। उनका अनुसार अहिले पनि सहारा घरमा ५८ जना सडक बेसहाराले सहारा लिइरहेका छन्।

शारीरिक, मानसिक तथा अन्य कारणले परिवार र समाजबाट अपहेलित भएर सडकमा आएकाहरू यहाँ पुगेपछि अनुशासनलाई पालना गरेर बसेका छन्। घरलाई बर्दगोरिया गाउँपालिकाका साथै कैलालीका अन्य पालिकाले पनि सहयोग गर्दै आएका विष्टले बताए। विभिन्न सङ्घसंस्थाले आवास निर्माणमा सहयोग गरिरहेका छन्। ‘घरमा एउटा एम्बुलेन्सको व्यवस्था गरिएको छ। सुदूरपश्चिम प्रदेशले पनि सहारा घरलाई सहयोग गर्दै आएको छ।

सहारा खोजिरहेका मानिसको जिम्मा राज्यले लिनुपर्नेमा संस्थापक विष्टको जोड छ। उनले कुनै व्यक्ति वा संस्थाले सुरुवात गरेर राज्यले गर्ने काममा साथ दिएको भन्दै त्यसको स्वामित्व राज्यले लिनुपर्ने र मानिसको आधारभूत अधिकार प्रदान गरिनुपर्नेमा जोड दिए। सहारा घरमा रहेका बेसहाराको लागि नागरिकस्तरबाट राम्रो सहयोग प्राप्त हुने गरेको संस्थापक विष्टले बताए।

उनका अनुसार कैलालीको टीकापुरस्थित गुडिमुन्टे समूहले देउसीभैलोबाट सङ्कलन भएको रकमबाट एक दिनको भोजन गराएको छ। समूहले देउसीभैलोबाट सङ्कलन भएको चामलसहित सात हजार पाँच सय हस्तान्तरण गरिएको देउसीभैलोका संयोजक राजेन्द्र विश्वकर्माले बताए। 
 

कमेन्ट लोड गर्नुस