सुदूर नेपाललाई विश्वसँग जोड्दै

यु–१९ महिला टि–२० विश्वकपमा नेपालको दोस्रो जित

२०८१ कार्तिक २२, ०४:४६ खबर संवाददाता

आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित हासिल गरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमा समेटियो। कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाइन्। उनले १७ बलमा दुई चौका प्रहार गर्दै १२ रन बनाएकी हुन्।

कप्तान जिलानीबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्। आयशा इकबाल पेवेकरले तीन बलमा दुई रन बनाएर आउट भइन्। साराह जसवीले १२ बलमा चार रन बनाइन् भने जिनिया अफरोज र स्वातिबा कुलदीपसिंह परमारले समान एक÷एक रन बनाए। अन्य छ  जना शून्य रनमा आउट भए।

नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई÷दुई विकेट लिए। त्यस्तै, कप्तान पूजा, कृश्मा, मनिशाले समान एक÷एक विकेट लिए। यो खेलमा कुवेतले अतिरिक्त दुई रन पायो। त्यसअघि नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय तीस रन बनाएको थियो।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन्। उनले ३८ बलमा चार चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाएकी हुन्। साना प्रवीणले १८ बलमा २५ रन बनाइन्। उनले सो क्रममा पाँच चौका प्रहार गरिन्। ज्योत्सिन्का मरासिनीले १८ बलमा एक चौकाको मद्दतले २३ रन बनाइन्। नेपालका लागि सावित्री धामी र सोनी पाख्रिनले समान छ÷छ रन बनाए भने सीमा केसीले चार रन बनाएकी थिइन्।

नेपालका लागि कृश्मा गुरुङले एक रनको योगदान दिइन्। कुवेतका लागि आयशा इकबाल पेवेकरले दुई र जिफा जिलानी र अमिषाराम ओलाचेरीले समान एक÷एक विकेट लिएका थिए। छनोट खेलमा आयोजक संयुक्त अरब इमिरेट्ससहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ। 
 

कमेन्ट लोड गर्नुस