कैलालीमा वडा अध्यक्षका छोराको नाममा गाउँपालिकाबाट ४४ हजार निकासा
कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नत्थु प्रसाद डगौराको सिफारिसमा छोराका नाममा ग्राभेल गर्ने भन्दै रकम निकासा गरिएको पाईएको छ। वडा कार्यालयमा कार्यालय सहयोगी पदमा काम गर्दै आएका वडा अध्यक्ष डगौराका छोरा दिनेशको नाममा गाउँपालिकाले गोपालको घरदेखि पश्चिम ताल आईतबारी लालको घर सम्मको बाटो ग्राभेलको योजनामा ४४ हजार निकासा दिईएको भेटिएको हो।
सो सडक ग्राभेलका लागि गाउँपालिकाले एक लाख ९ हजार बजेट छुट्याएकोमा अध्यक्षकै सिफारिसमा ४४ हजार आफ्ना छोरा दिनेश र ६५ हजार वडामै कार्यरत कार्यालय सहयोगी विश्वेश्वर प्रसाद चौधरीको नाममा निकासा दिईएको छ। वडा अध्यक्ष नत्थु प्रसाद डगौराले आफ्नो सिफारिसमा दुईजना कार्यालय सहयोगीको नाममा ग्राभेल वापतको बजेट निकासा भएको कुरा स्वीकार गरेका छन्।
उनले तत्कालीन प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर विष्टले व्यक्तिको नाममा रकम निकासा गर्दा फरक नपर्ने भनेका कारण आफूले वडा कार्यालयबाट सिफारिस गरिदिएको दावी गरे। तर कानुन अनुसार भने कुनै पनि पूर्वाधार विकासका योजनामा व्यक्तिको नाममा बजेट निकासा दिन मिल्दैन्। पूर्वाधार विकासका योजना उपभोक्ता समिति वा ठेक्का सम्झौता मार्फत कार्यान्वयन गराउदै भुक्तानी दिनुपर्ने कानुनी व्यवस्था रहेपनि जोशीपुर गाउँपालिकामा भने जनप्रतिनिधीले निकटका व्यक्तिलाई कर्मचारीमा भर्ना गर्दै उनीहरुलाई नै रकम वितरण गरिरहेका हुन्।