सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कुन–कुन पदका लागि कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन?

२०८१ कार्तिक २१, १२:०४ खबर संवाददाता

धनगढीः आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ।

निर्वाचन आयोगका अनुसार सुदूरपश्चिममा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ। बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ। यस्तै जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पनि उपनिर्वाचन हुँदैछ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ।
मंसिर २ गते उम्मेदवारी दर्ता
उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ। मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छ भने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ। मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।
कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ। गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुखका उम्मेदवारले ५० हजार, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले दुई लाख र गाउँपालिकाका वडाध्यक्षले एक लाख ५० हजार खर्च गर्न सक्नेछ।

आयोगले यही कात्तिक १ गते आसन्न स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तोकेको छ। उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन्। आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएको आयोगले जनाएको छ।

कमेन्ट लोड गर्नुस