इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको ज्यान गयो
एजेन्सीः पूर्वी इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको ज्यान गएको छ।
लेवोटोबी लाकी–लाकी नाम गरेको पहाडमा ज्वालामुखी विस्फोट भएको इन्डोनेशियाको ज्वालामुखी तथा भौगर्भिक विपद् न्यूनीकरण केन्द्रले जनाएको छ। आगो दन्केको लाभाका टुक्रा र ढुङ्गाहरू उछिट्टिएर ज्वालामुखीको केन्द्रबाट चार किलोमिटर टाढा रहेका गाउँहरूमा पुगेका थिए।
त्यसबाट कतिपय घरहरूमा आगलागी भएको छ। ज्वालामुखी विस्फोटबाट सात वटा गाउँ प्रभावित भएका छन्। इन्डोनेशिया सरकारले ज्वालामुखीबाट पुग्ने खतराको सूचनाको तहलाई उच्चतम स्तरमा बढाउँदै ज्वालामुखीको केन्द्रबाट सात किलोमिटरकोे क्षेत्रभित्र पर्ने सबै ठाउँ खाली गराउन भनेको छ।
इन्डोनेशियाको विपद् न्यूनीकरण निकायका प्रवक्ताले अबका केही दिन अकस्मात् आउने बाढी र बगेर आउने चिसो लाभाले समस्या निम्त्याउने चेतावनी दिएका छन्। स्थानीय सरकारहरूले ५८ दिनका लागि प्रभावित क्षेत्रमा सङ्कटकालको घोषणा गरेका छन्।