शुक्लाफाँटामा ६ करोडको खानेपानी आयोजना अन्तिम चरणमा
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका २ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको र नगरपालिकाको ५०/५० प्रतिशत अनुदानमा गरी छ करोड ८० हजार चार सय १४ मा ठेक्का प्रक्रिया मार्फत खानेपानी आयोजना निर्माण अगाडी बढाइएको छ।
आयोजना निर्माणको ठेक्का सम्झौता विसं २०८० वैशाख २७ गते भएकोमा निर्माण विसं २०८१ असार १८ गते भित्र गरिसक्नु पर्ने थियो। निर्माण निर्धारित समय भित्रै गर्न नसकिए पछि म्याद थप गरी कार्य भैरहेको छ।
नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीका अनुसार खानेपानी आयोजनका लागि बोरिङ ड्रिल गर्ने कार्य पुराभै दुई सय २५ घनमिटरको टङकी निर्माण अन्तिम चरणमा पुगेको छ। डेढ तले कार्यालय भवन र पर्खाल निर्माणको कार्य पुराभै रङगरोगन,विद्युत जडानको कार्य भैरहेको छ।
उभोक्ताको घर घर सम्म खानेपानी पुर्याउनका लागि २२ दशमलव ९७ किलोमिटर पाइपलाईन विछ्याउने कार्य पुरा भएको शाखा प्रमुख धामीले बताए। एक सय ६१ मिटर ट्रान्समिसन पाइपलाइन विछयाउने कार्य पुरा भएको छ।
ठेक्का सम्झौता अनुसार पाँच सय ८५ उपभोक्ताको घरसम्म पाइपलाईन जडानदेखि धाराको टुटी जडान गर्ने योजना रहेको छ। वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुर लगायतका गाउँका बासिन्दाको घर घर सम्म खानेपानी पुरयाउने लक्ष्य राखिएको छ। आयोजनाको भौतिक प्रगती ८० प्रतिशत रहेको छ।