शुक्रवार ६ जना सहयोगापेक्षीहरुको उद्धार
धनगढीः मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रवार ६ जना सडकआश्रित मानिसहरुको उद्धार गरिएको छ। ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो।
३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा शुक्रवार कैलालीको गोदावरी नगरपालिकाबाट २ जना, कञ्चनपुरको बेदकोट नगरपालिकाबाट २ जना र शुक्लाफाँटा नगरपालिकाबाट २ जना गरि ६ जनाको उद्धार गरिएको हो। शुक्रवार उद्धार गरिएका ६ जनालाई आजै मानवसेवा आश्रम कैलालीको धनगढी सेवाकेन्द्रमा राखिएको छ।
असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा शुक्रवार कञ्चनपुरको महेन्द्रनगरसम्म आइपुग्दा १५१ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले बताए।
११६ पुरुष र ३६ महिलाको सङ्ख्या मध्ये ३ बालिका र १ बालक पनि रहेका छन्। उद्धार टोली शुक्रवार कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा रहनुभएका सहयोगापेक्षी मानवहरुको उद्धारमा खटिएको हो। साथै मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका यात्रीहरुद्वारा बेलुका ६ः३० बजे धनगढीस्थित पार्कमोडमा देउसीभैलो समेत खेलेका थिए।