कञ्चनपुरबाट दुई दिनमा ८ लाख बढीको अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले दुई दिनमा ८ लाख बढीको अवैध सामान बरामद गरेको छ।
मंगलवार र बुधवार गरेर जिल्लाका विभिन्न स्थानबाट अन्दाजी ८ लाख ८१ हजार ३२५ मुल्य बराबरको अवैध सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टालीले अन्दाजी ४ लाख ३३ हजार १५०, इलाका प्रहरी कार्यालय गड्डाचौकीले ३ लाख ७५ हजार ४७०, प्रहरीचौकी परासनले ३७ हजार ७०५ मुल्य बराबरको अवैध सामान बरामद गरेको छ।
यस्तै प्रहरीचौकी बाबाथानले १० हजार र अस्थायी प्रहरी विट मझगाउँले २५ हजार मुल्य बराबरको सामान बरामद गरेको छ। बरामद गरेको किराना, फेन्सी, खाध्य तथा हार्डवेयरका सामान कारवाहीको लागि भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।