सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सहसचिवको दरबन्दीमा उपसचिवलाई बनाइयो ‘सिडिओ’

२०८१ कार्तिक १४, १२:३० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका चार जिल्लामा सहसचिवको दरबन्दीमा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिने काम भएको छ।

डोटी, बैतडी, डडेल्धुरा र अछाममा सहसचिवको दरबन्दीमा उपसचिवलाई सिडिओको जिम्मेवारी दिइएको हो। यी चारवटै जिल्लामा गृह मन्त्रालयले उपसचिवलाई सिडिओ बनाएर खटाएको छ। हाल डोटी, बैतडी, डडेल्धुरा र अछाममा उपसचिव सिडिओ छन्। यी जिल्लामा सहसचिवको दरबन्दी छ।

राजनीतिक दलनिकट र पहुँचका आधारमा कनिष्ठ कर्मचारीलाई दरबन्दीविपरीत सिडिओको जिम्मेवारी दिने काम भएको हो। गत कार्तिक ७ गते २७ सहसचिव र उपसचिवको सरुवा गर्दा गृहले सह–सचिवको दरबन्दी रहेका डोटी र बैतडीमा उप–सचिव पठाएको थियो। डोटीमा मोहनराज जोशी र बैतडीमा दीर्घराज उपाध्यायलाई सरुवा गरिएको छ।

त्यस्तै, डडेल्धुरामा उपसचिव चोमेन्द्र न्यौपाने भदौ २४ गतेदेखि, अछाममा उपसचिव शिवप्रसाद लम्साल बैशाख २४ गतेदेखि सिडिओ छन्। प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८० ले पदस्थापन वा सरुवा गर्ने वा काजमा खटाउने प्रयोजनका लागि जिल्लाको वर्गीकरण र आधारसम्बन्धी व्यवस्था गरेको छ। 

कार्यविधिको दफा ६ मा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) को प्रमुख जिल्ला अधिकारीको पदमा पदस्थापन वा सरुवा गरिने वा काजमा खटाउने प्रयोजनका लागि ६१ जिल्लालाई वर्गीकरण गरेको छ। गृह मन्त्रालयको सिडिओ पदस्थापन वा सरुवा कार्यविधिमा गृहजिल्लामा कर्मचारीलाई सिडिओ बनाएर खटाउन रोकेको छ। कार्यविधिको दफा ५ (ङ) मा ‘कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरुवा गर्न वा काजमा खटाइने छैन’ भन्ने व्यवस्था छ।

कमेन्ट लोड गर्नुस