सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिद्धबाबा टोलको साढे एक किलोमिटर सडक सयपत्रीले सजियो

२०८१ कार्तिक १४, ०९:४१ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१५ को सिद्धबाबा टोल विकास समितिले साढे एक किलोमिटर सडक किनारमा सयपत्री र मखमली फूल हुर्काएको छ।

टोल विकास समितिका सहदस्यहरूले सरसफाइको क्रममा सडक किनारमा फूलका बिरुवा हुर्काएका हुन्। असार–साउनमा लगाएको फूलका बोटमा अहिले फूलहरु फूलेका छन्। समितिले सडकको दुबै किनारमा सयपत्री र मखमली फूल रोपेर हुर्काएको हो। फूल तिहारमा बिक्री गर्ने योजना समितिले बनाएको छ।

अर्को वर्षदेखि भने वडका सबै टोल समितिले सडक किनारमा फूल लगाउने योजना बनाएका छन्। सदाबहार फूलका बोट उपलब्ध गराएर सहयोग गरिदिन टोल विकास समितिले धनगढी उपमहानगरपालिकाले आग्रह समेत गरेको छ।
टोल विकास समितिले सामूहिक निर्णय गरेर सडक क्षेत्र सरसफाइ राख्न फूल रोप्ने निर्णय गरेको थियो। टोलबासीले आफ्नो घरबाट फूलको बिरुवा लिएर सडक सफा गर्ने क्रममा किनारमा रोपेका हुन्।

अर्को वर्षदेखि उपमहानगरपालिकाले फूलको बेर्ना उपलब्ध गराएर टोलका सम्पूर्ण सडकमा फूल रोप्न सहज हुने सिद्धबाबा टोल विकास समितिकी सदस्य सोना चौधरीले बताइन्। ‘टोल विकास समितिका सदस्यहरूले आपसमा सल्लाह गरेर सडक किनारमा फूलका बिरुवा रोपेका हुन्। टोलबासीले सामूहिक रुपमै बिरुवाहरूको गोडमेल र संरक्षण गरेका हौँ’, चौधरीले भनिन्। अहिले सिद्धबाबा टोल जाने डेढ किलोमिटर सडक रङ्गीचङ्गी भएको छ।

फूल रोप्न र हुर्काउन सबैले साथ दिएको टोल विकास समितिकी अध्यक्ष सिता चौधरीले बताइन्। धनगढी–१५ मा पाँचवटा टोल विकास समिति गठन गरिएका छन्। सिद्धबाबा टोल विकास समितिले साढे एक किलोमिटर सडक किनारमा फूल लगाएको छ भने अन्य टोलमा पनि सडक किनारमा फूल फुलेका छन।

अर्को वर्षदेखि सबै टोलका सडक किनारमा फूल रोप्ने योजना बनाइएको छ। टोल विकास समितिलाई उपमहानगरपालिकाले सदबहार फूलका बिरुवा उपलब्ध गराए वर्ष भरी फुल्ने फूल रोपेर संरक्षण गर्न टोल विकास समितिहरू तयार रहेको कनरी टोल विकास समितिका अध्यक्ष भिखुराम चौधरीले बताए। सिद्धबाबा टोल विकास समितिले सडक किनारमा फूलेको सयपत्री र मखमली फूल तिहारमा बिक्री गर्ने योजना बनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस