धनगढीको एउटा टोल, जहाँ पुरै सडक किनारमा फूले ढकमक्क सयपत्री
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीको पिपलचोक टोल विकास समितिले सरसफाइमा उदाहरणीय काम गरेको छ।
टोल विकास समितिले एक किलोमिटर कालोपत्र सडकको दुबै किनारमा सयपत्री फूल फुलाएको हो। टोल विकास समितिले सरसफाइसँगै सौन्दर्य कायम राख्न सडक किनारमा फूल रोपेको छ। असार÷साउनमा रोपिएका फूल अहिले सडक किनारभरी ढकमक्क फुलेका छन्। टोलबासीले फूल रोपेर नियमित गोठमेल र रेखदेख गरेका कारण अहिले पूरै टोल फूलहरूको सौन्दर्यले सिँगारिएको छ।
सडक किनारमा सयपत्री, सुपारी, मखमली र तुलसी रोपेर पूरै बस्तीमा सुन्दरता ल्याउने काम भएको छ। धनगढी उपमहानगरपालिका–६ जालीको पिपलचोक टोल विकास समितिले टोलको मुख्य सडकको दुबै तर्फ सयपत्री, मखमली, सुपारी र तुलसी हुर्काएको छ। करिब एक किलोमिटर मुख्य सडकमा लगाइएको फूल अहिले ढकमक्क फुलेको छ। जसका कारण पिपलचोक टोल अहिले बेहुली जस्तै देखिएको छ।
सडकको दुबै किनारमा फुलेका रङ्गिचङ्गी फूलले पूरै टोलको शोभा बढाएको छ। टोलमा सरसफाइ अभियान चलाउँदा सबैको सल्लाहले सडक किनारमा फूल लगाएर संरक्षण गरेको टोल विकास समितिकी अध्यक्ष सृष्टि चौधरीले बताइन्। उनले सरसफाइसँगै टोलको सुन्दरता बढाउन सडक किनारमा फूल रोपेको बताइन्। ‘हामीले टोलको सरसफाइ गर्दा नै घरबाट बोट लिएर सडक किनारमा फूल रोपेका हौँ’, उनले भनिन्, ‘अहिले सडकभरी फूल फुलेका छन्। तिहारमा यिनै फूलहरूले सजाउने योजना छ। बिक्री गर्ने लक्ष्य पनि राखेका छौँ।’
सडकमा चौपाया छोडिएको छैन
चौधरी समुदायको बाक्लो बसोबास रहेको पिपलचोक टोलमा कसैले पनि सडक किनारमा चौपाया डो¥याउने गरेका छैनन्। यस्तै, सडकमा निर्माण सामग्री राख्ने कार्यको पनि फूल रोपिएपछि अन्त्य भएको छ। गत असारमा टोलबासीले बैठक बसेर सडक किनारलाई सफा राख्न फूल रोप्ने निधो गरेका थिए। पिललचोक टोल जस्तै ६ नम्बर वडाका अन्य टोलमा पनि सरसफाइमा उत्कृष्ट काम हुँदै आएको छ।
सफा धनगढी, हरित धनगढी र सुन्दर धनगढी अभियान सफल बनाएर धनगढीलाई देशकै उत्कृष्ट उपमहानगरपालिका बनाउन सरसफाइसँगै सडक किनारामा फूल हुर्काउने काम गरिएको सामाजिक परिचालक पशुपति सुवेदीले बताइन्। उनले यो अभ्यासलाई अर्को वर्षबाट अन्य टोलमा समेत लागु गर्न टोल विकास समितिहरू तयार रहेको बताइन्। ‘पिपलचोक टोल विकास समितिले सडकको दुबै तर्फ फूल हुर्काएपछि अर्को वर्षवाट अन्य टोल विकास समितिहरूले पनि फूल लगाउने भएका छन्।
फूल लगाएपछि यो टोलको कामको प्रसंशा पनि भएको छ, बस्ती सुन्दर पनि देखिएको छ’, उनले भनिन्। जालीको पिपलचोक टोलमा सयपत्री फुलेपछि अचेल हेर्न आउनेको संख्या बढेको छ। विहान साँझ सडकमा कसरत गर्न आउने र टिककटक बनाउनेको संख्या बढेको ६ नम्बरका वडासदस्य महेन्द्रबहादुर थापा मगरले बताए। उनले पिपलचोक टोल विकास समितिले उत्कृष्ट काम गएको बताए। धनगढीमा एक दर्जन किसानले आफ्नो बारीमा सयपत्री फुलाएका छन् भने वडा नम्बर ६ र १५ का केही टोलहरूले सडक किनारमा सयपत्री र मखमली फुल्ने फक्रने वातावरण सिर्जना गरेर सिँगार्ने काम गरिएको छ।