सुदूर नेपाललाई विश्वसँग जोड्दै

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय

२०८१ कार्तिक ११, ०६:१९ खबर संवाददाता

काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्।

आइतवार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन्। मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ।

राज्यको सामर्थ्यका आधारमा धेरै धनराशी खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ। यसैअन्तर्गत मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए। हाल यो व्यवस्था बालबालिकाबाट सुरू गर्न लागिएको मन्त्रालयले जनाएको छ।

नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ। ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए।

समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको गर्न सकिन्छ। तर आर्थिक अभावमा कोही पनि परीक्षण र उपचारबाट बञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौं,’ उनले भने। मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत पनि गरेका थिए। 

कमेन्ट लोड गर्नुस