अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको उडान निलम्बित
काठमाडौँः उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ।
थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो। करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ।
नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ। सूचना अधिकारी भूलले थाई एयर एसियाको उक्त विमानको शनिवारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको जानकारी दिए।
‘विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउछ’, उनले भने, ‘यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो। अब, तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ। जिएसए पनि रद्द भएको छ।’ विशेष चार्टर्ड उडान अनुमति पाएको सो विमानले काठमाडौंबाट आजै यात्रुलिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएकोछ।