सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुप विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबिच ५ बुँदे समझदारी

२०८१ कार्तिक ११, १२:०२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेश्नल युनिभर्सिटीबिच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ।

ललितपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनकाबिच आइतबार बिहान सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेश्नल युनिभर्सिटीका अध्यक्ष डा.ओ बोङ याङबिच हस्ताक्षर भएको पाँच बुँदे समझदारीपत्र आदानप्रदान गरिएको हो। 

शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि दुई विश्वविद्यालयबिच यो समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा पन्तले बताए। जसमा विश्वविद्यालयको फ्याकल्टी, प्राध्यापक र अनुसन्धानकर्ताहरु आदानप्रदान गर्ने, सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक विश्वविद्यालयका विद्यार्थीहरु आदानप्रदान गर्ने, दुबै विश्वविद्यालयबिच शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने, संयुक्तरुपमा अनुसन्धान सञ्चालन गर्ने, प्राज्ञिक बैठक तथा सेमिनारहरु आयोजना गर्ने पाँच बुँदे समझदारी भएको हो। 

सन् १९४७ मा स्थापना भएको जोनबुक विश्वविद्यालयका प्राडा ह्याक योङ किमले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारिधिकका लागि सुपरभाइज गरेका छन्। समझदारीपत्र आदानप्रदान गर्दै उनले नेपाली विद्यार्थीहरुको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गरेका छन्। 

सन् २०१० मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको  छ। नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको सुदूरपश्चिम विश्वविद्यालय सह–आयोजकको रुपमा रहेको छ।

कमेन्ट लोड गर्नुस