सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली क्याम्पसमा शिक्षा संकाय अध्ययन गरेका विद्यार्थीको भेला सम्पन्न

२०८१ कार्तिक १०, ०५:०८ खबर संवाददाता

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा शिक्षा संकायमा मुख्य विषय अङ्ग्रेजी लिएर अध्ययन गरेका विद्यार्थीहरूको भेला सम्पन्न भएको छ। शनिवार क्याम्पसको सभा हलमा भेला सम्पन्न भएको हो।

विभिन्न शैक्षिक सत्रमा क्याम्पसमा अध्ययन गरेका र हाल विभिन्न क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीको भेलामा सहभागिता रहेको थियो। पूर्व विद्यार्थी चुडामणि तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा  क्याम्पस प्रमुख तोयनाथ भट्ट, सहायक क्याम्पस प्रमुख डाक्टर लोकबहादुर बिष्ट, प्राध्यापक डाक्टर रामचन्द्र बिनाडी, प्रेमराज भण्डारी, स्ववियु अध्यक्ष यमराज जोशी र सचिव  सन्तोष पन्तको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा स्ववियु अध्यक्ष यमराज जोशीले कैलाली क्याम्पसबाट उत्पादित जनशक्तिको असल कर्मबाट क्याम्पसको गरिमा बढ्ने बताए। उनले क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनेपछि प्राविधिक शिक्षा प्रदान गरिरहेको र क्याम्पसको स्तरोन्नति भइरहेको दाबी गरे। कार्यक्रममा पूर्व प्राध्यापक प्रेमराज भण्डारीले समाज बदल्ने महत्त्वपूर्ण भूमिकामा शिक्षकहरू रहेको बताए। उनले समाजको उन्नति र प्रगतिका लागि शिक्षित व्यक्तिहरू अर्थात् शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।

प्राध्यापक डाक्टर रामचन्द्र विनाडीले शिक्षकहरू मात्रै आफ्ना विद्यार्थीको प्रगति र उन्नतिमा सदैव खुसी हुने भएकाले थप प्रगति गर्न सबैलाई आग्रह गरे। उनले अध्ययन र अध्यापन सँगसँगै लैजान आग्रह गरे। कार्यक्रममा सहायक क्याम्पस प्रमुख डाक्टर लोकबहादुर बिष्टले कैलाली बहुमुखी क्याम्पसमा ६ संकायमा स्नातक र स्नातकोत्तर तहको पढाई भइरहेको बताए। उनले सस्तो, गुणस्तरीय प्रभावकारी शिक्षण सिकाइका लागि कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमकै उत्कृष्ट गन्तव्य रहेको बताए।

क्याम्पस प्रमुख प्राध्यापक तोयनाथ भट्टले कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गरेको जनशक्ति सर्वत्र फैलिएको बताए। शिक्षण पेशामै कैलाली बहुमुखी क्याम्पसबाट उत्पादित जनशक्ति देशभर कार्यरत रहेको क्याम्पस प्रमुख भट्टले बताए। पूर्व विद्यार्थी सुवासचन्द्र भण्डारीको अगुवाईमा पहिलो भेला सम्पन्न भएको हो। भेलामा उपस्थितहरूले आपसमा शुभ दिपावली र छठ पर्वको  शुभकामना आदानप्रदान गरेका थिए। आगामी दिनहरूमा भेलालाई निरन्तरता दिने र थप रचनात्मक काम गरिने बताए।
 

कमेन्ट लोड गर्नुस