खुला सीमाका कारण वर्षेनी हजारौँको संख्यामा पिपिआर सङ्क्रमित खसीबाख्रा भित्रिँदै
सिरहाको नाका हुँदै जिल्लामा वर्षेनी हजारौँको सङ्ख्यामा पिपिआर सङ्क्रमित भेडाबाख्रा भित्रिने गरेको छ। खुला सीमाका कारण नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको क्वारेन्टाइन चेकपोष्ट प्रभावकारी नहुँदा सिरहाको नाका हुँदै जिल्लामा वर्षेनी हजारौँको सङ्ख्यामा पिपिआर सङ्क्रमित भेडाबाख्रा भित्रिने गरेका हुन।
रोग नियन्त्रणमा ल्याउन सरकारले वर्षेनी लाखौँ रुपैयाँ खर्च गरेर भ्याक्सिन दिने कार्यक्रम चलाउने गरे पनि क्वारेन्टाइन चेकपोष्टको उदासिनताका कारण भारतबाट निर्वाधरूपमा पिपिआर रोग सङ्क्रमित भेडाबाख्रा भित्रिने गरेको हो। पिपिआर रोगलाई नियन्त्रण गर्न जिल्ला पशुसेवा कार्यालय सिरहाले प्रत्येक वर्ष झैँ यस वर्ष पनि केहीमात्रामा भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको भ्याक्सिन लगाएको छ।
प्रत्येक वर्ष पिपिआर रोगबाट जिल्लामा हजारौँको भेडाबाख्रा मर्ने गरेको इलाका पशु केन्द्र सुखीपुरका चिकित्सक इन्द्रदेव यादवले बताए। उनका अनुसार “प्रत्येक वर्ष भेडाबाख्रालाई भ्याक्सिन दिए पनि खुला सीमाका कारण भारतबाट रोगी भेडाबाख्रा आउनाले रोग नियन्त्रण हुन सकेको छैन।”
पिपिआर रोग नियन्त्रण गर्न नेपाल सरकारले राष्ट्रियस्तरमा बृहत् खोप कार्यक्रम सञ्चालन गरेको भए पनि खुला सीमाका कारण भारतबाट निर्वाधरूपमा चोरी निकासी भई भेडाबाख्रा आउनाले सिरहामा सो रोग नियन्त्रणमा आउन नसकेको कृषकहरु बताउँछन्। रासस