सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड राष्ट्रिय निकुञ्जमा गाई–गोरु छोडिदै

२०८१ कार्तिक ८, ०७:३५ नारायण अवस्थी

धनगढीः खप्तड राष्ट्रिय निकुञ्जमा स्थानीयले बुढा गोरु तथा दूध नदिने गाई छोड्न थालेका छन्। बैशाखमा चरिचरनका लागि लग्ने र साउनमा घर फर्किदा बुढा गोरु र थारो गाईहरूलाई त्यही छोड्ने गरेका छन्। जसका कारण केही वर्षदेखि खप्तडका पाटनहरूमा छाडा चौपायाको सङ्ख्यामा वृद्धि भइरहेको छ। खप्तड घुम्न जानेहरूले खप्तडका हरेक पाटनहरूमा छाडा चौपायाको बथान हेर्नुपर्ने अवस्था आएको छ। यो वर्ष खप्तड राष्ट्रिय निकुञ्जमा करिब तीन सय सङ्ख्यामा छाडा चौपाया रहेको खप्तड घुम्न गएका पर्यटकले बताएका छन्।

केही वर्षदेखि चौपाया छोड्ने क्रम बढ्यो

सुदूरपश्चिमका चार पहाडी जिल्ला बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा जङ्गली जनावरको स्थान छाडा चौपायाले लिन थालेका हुन्। निकुञ्ज वरिपरि बस्ने स्थानीयले चरिचरनका लागि लगेका बुढा गोरु र थारो गाईहरूको झुन्ड खप्तडका हरेक पाटनहरूमा देख्न सकिन्छ। बैशाखमा अनुमति लिएर चरिचरनका लागि लगिएका चौपाया मध्ये बुढा गोरु र थारो गाईहरूलाई गोठालाहरूले खप्तडमै छोडेर आउने गरेका छन्। राष्ट्रिय निकुञ्जका वार्डेन रमेश यादवले आफू भर्खरै कार्यक्षेत्रमा सरुवा भएर आएको तर छाडा चौपायाको बारेमा कर्मचारीले रिपोर्टिङ गरेको बताए। उनले अनुमति लिएर चरिचरनका लागि चौपाया ल्याउने स्थानीयले केही चौपाया निकुञ्ज भित्रै छोडेर जाने गरेको बताए। “पशुपालन हाम्रो जीवन पद्धति नै हो अन्य निकुञ्जमा पनि चरिचरन गर्न दिइन्छ खप्तडमा पनि चराउन दिइन्छ यसले फाइदा पनि गर्छ बेफाइदा पनि गर्छ। खप्तडमा पनि अनुमति लिएर चौपाया चराउन दिने गरिएको छ,“ उनले भने।

खप्तड घुम्न जाने पर्यटकहरूले केही वर्षदेखि निकुञ्जमा घरपालुवा जनावर छोड्ने प्रवृत्ति बढेको बताएका छन्। उनीहरूले निकुञ्ज कार्यालय र नेपाली सेनाले चौपाया छोड्ने कार्य नियन्त्रण गर्न नसकेको गुनासो गरेका छन्।

साउन ३० भित्र चौपाया ल्याउनुपर्ने नियम कार्यान्वयन भएन

२२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज २०४२ सालमा स्थापना भएको हो। समुद्र सतहदेखि दुई हजार चार सयदेखि तीन हजार सात सय मिटर उचाइमा अवस्थित खप्तड हिमाली वन्यजन्तु, चराचुरुङ्गी र जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। तर हरेक वर्ष बैशाखदेखि साउनसम्म करिब दुई हजार घरपालुवा चौपायाको चरिचरनले खप्तड क्षेत्र प्रभावित हुने गरेको छ। अनुमति लिएर चरिचरनका लागि चौपाया लग्न दिने भए पनि घर ल्याउँदा नियमन नगरिँदा स्थानीयले बुढा गोरु र दूध नदिने गाई खप्तडमै छोड्ने गरेका छन्। चरिचरनको अनुमति दिँदा साउन ३० भित्र अनिवार्य सबै घरपालुवा जनावर घर ल्याउनुपर्ने भए पनि यो नियमको केही वर्षदेखि उल्लङ्घन हुने गरेको स्थानीयले बताएका छन्। नेपाली सेना र निकुञ्ज कार्यालयको कमजोरीको स्थानीयले फाइदा उठाउँदै आएका छन्। तर,चौपाया छोड्ने प्रवृत्तिलाई बिस्तारै रोक्ने दाबी वार्डेन यादवको छ। उनले अनुमति दिँदा पुर्जीमा उल्लिखित सङ्ख्यामा चौपाया फिर्ता भए÷नभएको नियमन गरिने बताए।

खप्तडका हरेक पाटनमा गाई गोरुको बथान

प्राकृतिक तथा धार्मिक महत्त्व बोकेको खप्तडमा २२ वटा पाटन र ५३ वटा थुम्का रहेका छन्। भू–स्वर्गको रूपमा परिचित खप्तडमा छाडा चौपायाको सङ्ख्या बढ्दै गए त्यहाँको जैविक विविधता नष्ट हुने चिन्ता गरिएको छ। सरकारले खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालय स्थापना गरे पनि चरिचरन नियन्त्रण गर्न र चौपाया छोड्ने प्रवृत्तिको नियन्त्रण गरिएको छैन। जसका कारण केही वर्षमै खप्तड क्षेत्रमा छाडा चौपायाको सङ्ख्या थेग्न नसक्ने गरी बढ्न सक्ने चिन्ता गरिएको छ। खप्तडका हरेक पाटनमा सानो ठूलो सङ्ख्यामा चौपायाको झुन्ड रहेका छन् । तर, चौपाया छोड्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गर्ने वार्डेन यादवको भनाइ छ।

अहिले खप्तड घुम्न जाने हरेक पर्यटकको पहिलो जम्काभेट त्यहाँ छोडिएका छाडा चौपायासँग हुने गरेको छ। खप्तडको मनमोहक दृश्य हेर्न गएका उनीहरूले अलपत्र छोडिएका छाडा चौपाया देखेर विस्मित हुनु परेको छ।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस