सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफमा श्रीलंकाविरुद्ध १२ मिनेटमै नेपालको तीन गोल

२०८१ कार्तिक ८, ०६:१३ खबर संवाददाता

काठमाडौँः सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपालले १२ मिनेटको अवधिमै ३–० को अग्रता लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाललाई सुरुवाती अग्रता सविता राना मगरले दिलाइन्। उनले खेलको सातौं मिनेटमा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को पासमा गोल गरिन्। यस्तै, सावित्राले १०औँ मिनेटमा गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन्। यस्तै, खेलको १२औँ मिनेटमा रेखा पौडेलले गोल गर्दा नेपालले ३–० को अग्रता पाएको छ।

आज कप्तान एन्जिला तुम्बापो सुब्बा र सावित्रा भण्डारीले सुरुवातदेखि खेलिहेका छन्। उनीहरूले माल्दिभ्सविरुद्धको खेलमा विश्राम गरेका थिए। आजको खेलमा नेपालले चार खेलाडी परिवर्तन गरेको छ। आज गोलरक्षक अञ्जना राना मगर, डिफेण्डर निशा थोकर, मिडफिल्डर विमला चौधरी र फरवार्ड रश्मीकुमारी घिसिङलाई सुरुवाती रोजाइमा राखिएको छैन।

उनीहरूलाई विश्राम दिँदा एन्जिला र सावित्रासहित डिफेन्डर अमृता जैशी र फरवार्ड अमिशा कार्की सुरुवाती इलाभेनमा परेका छन्। पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११–० ले हराएको थियो।

नेपाललाई सेमिफाइनल पुग्न श्रीलंकाविरुद्ध बराबरी खेले पुग्छ। समूह विजेता बन्न नेपालले श्रीलंकालाई कम्तीमा ६ गोल अन्तरले हराउनुपर्ने समीकरण बनेको छ। समूह ‘बी’ बाट भुटानले सेमिफाइनलको यात्रा गरिसकेको छ। 
 

कमेन्ट लोड गर्नुस