डोटीमा सेती लोकमार्गका रुख कटानीको काम अलपत्र, बजेट अभावले समस्या
धनगढीः डोटीमा सेती लोकमार्गका रुख कटानीको काम अलपत्र परेको छ। डोटीको बडिकेदार गाउँपालिका–३ ओखलढुङ्गा क्षेत्रमा रुख कटानीका लागि अनुमति आएको भएपनि काम सुरु नभएको हो।
संघीय मन्त्रीपरिषद्ले सेती राजमार्गअन्तरगर्त डोटी जिल्लास्थित ठुलीगाड–सेती–बुढीगंगा दोभान सडक खण्डको ८० हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानीको स्वीकृति दिएको थियो। तर, बजेट अभावको कारण देखाउदै काम सुरु भएको छैन। जग्गा तथा रुखको क्षति बाफतको सङ्घीय वन तथा वातावरण मन्त्रालयलाई ४० करोड दिनुपर्ने छ। यता, सेती लोकमार्ग दक्षिणी खण्ड, कार्यालयसँग पुँजीगत बजेट ४६ करोड मात्र रहेको छ।
लोकमार्ग योजना कार्यालयसँग बजेट अभावका कारण रुख कटानीको काम सुरु नभएको इन्जिनियर केशवदत्त मिश्रले बताए। उनले भने, ‘वन मन्त्रालयले ४० करोड मागेको छ। हामीसँग पुँजीगत बजेट ४६ करोड मात्र छ। अर्थ मन्त्रालयसँग माग गरेका छौ। तर, अर्थ मन्त्रालयले बजेट दिएको छैन।’ डोटी क्षेत्रको ४० किलोमिटर क्षेत्रका २ हजार सात सय रुख तथा पोलहरू कटान गर्नुपर्ने छ।
ओखलढुङ्गामा थन्कियो स्काभेटर
डोटीको बडीकेदार गाउँपालिका–३को ओखलढुङ्गामा पुगेको स्काभेटर दुई वर्षदेखि थन्किएको छ। सडक निर्माणका लागि पुगेको स्काभेटर झण्डै २ वर्षदेखि थन्किएको हो। सडकको ट्याक निर्माणका लागि खेतमा बालीसमेत नलगाएका स्थानीय २ वर्षसम्म काम सुरुसमेत नभएपछि निरास भएका छन। बडिकेदार गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर गुरुङले सडकमा रहेका रुख कटानीको काम सुरु नभएको बताए। उनले भने, ‘रुख कटानीको काम सुरु भएको छैन। सडक निर्माणको काम पनि रोकिएको छ। स्काभेटर यहीँ छ। तर, काम हुँदैन। तिहारपछि आउनु हुन्छ होला उहाँहरु।’ करिब ६५ करोडको लागतमा सपना–जयमा–स्वर्गद्वारी जेभीले सो खण्डको ट्याक खोल्ने ठेक्का पाएको छ।
२५५ किलोमिटर ट्याक निर्माण बाँकी
कैलालीको टीकापुरदेखि चीनको ताक्लाकोटसम्म सेती लोकमार्गको लम्बाइ तीन सय ५९ किलोमिटर छ। अहिलेसम्म २ सय चार किलोमिटर सडकको ट्रयाक निर्माणको काम पूरा भएको छ। एक सय ५५ किलोमिटर सडकको ट्रयाक निर्माण भएको छैन। कैलाली खण्डमा समेत तीन किलोमिटर सडकको ट्रयाक निर्माणको काम पूरा भएको छैन। कैलाली क्षेत्रको सडकमा पर्ने रुख कटानीको स्वीकृत नदिएकाले काम ढिलो भएको दाबी छ।
टीकापुरदेखि डोटीको सिमाना ठुलीगाडसम्मको ७२ किलोमिटर खण्ड ट्रयाक ३४ करोडमा खोल्न २०७४ मा लुम्बिनी–नागार्जुन–बानियाँ जेभीसँग सम्झौता भएको थियो। तर, चार वर्षपछि २०७८ मा मात्र सरकारले रूख कटानको अनुमति दिएको थियो। डिभिजन वन कार्यालय, पहलमानपुरले रुख कटानीका लागि समय थप गर्नुपर्ने भएको छ।
अछाममा पनि रुखले समस्या
सेती लोकमार्गको अछाममा ७२ किलोमिटरमध्ये ५१ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको छ। अछाममा पनि रूख कटान आदेश नपाउँदा ठेक्का लगाएको ६ किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम रोकिएको छ। २१ करोडको लागतमा कश्यप निर्माण सेवाले ठेक्का पाएको १३ किलोमिटरमध्ये ६ किलोमिटरमा काम हुन नसकेको हो। सेती लोमार्ग दक्षिण खण्डका इन्जिनियर मिश्रले अछाम खण्डको काम पनि तीव्र गतिमा नभएको बताए।
बाजुरामा सर्भे हुँदै
बाजुराको सिमानातर्फ अछाममा १५ किलोमिटर र बाजुरामा १२ किलोमिटर सडक ट्रयाक खोल्न ठेक्का नै भएको छैन। बाजुरा क्षेत्रमा विभागबाट अध्ययन हुँदैछ। विस्तृत योजना प्रतिवेदन (डिपीआर) निर्माणको चरणमा रहेको योजना कार्यालयले बताएको छ। चैनपुरदेखि ताक्लाकोट जोड्ने उत्तरी खण्डको एक सय १७ किलोमिटरमध्ये ४० किलोमिटरमा मात्र ट्रयाक खोलिएको छ।
कैलालीमा १५ किलोमिटर कालोपत्र हुँदै
सेती लोकमार्गको कैलाली खण्डमा १५ किलोमिटर कालोपत्र हुने भएको छ। चालु आर्थिक वर्षमा कैलालीको दुुुर्गौलीदेखि प्रतापुरसम्म कालोपत्रका स्रोत सुुचिश्चिता आएको छ। मिश्रले भने, ‘कैलालीमा कालोपत्रको काम सुरु भएको छ। भौतिक संरचनाहरू निर्माणको चरणमा छन।’