सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि विषय पढेर व्यावसायिक कृषि कर्ममा जमे अछामका दशरथ र रोसन

२०८१ कार्तिक ७, ०६:४४ नारायण अवस्थी

धनगढीः कृषि विषय पढेका अछामका रोशन साउँद र दशरथ साउँद व्यावसायिक कृषि पेशामा लागेका छन्।

१० वर्षदेखि कृषि पेशामा लागेका उनीहरूले पाँच वर्षदेखि कपिलवस्तुका भास्कर पङ्गेनीसँग मिलेर व्यावसायिक कृषि गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानमा दुई बिघा जग्गा लिजमा लिएर गत वर्षदेखि व्यावसायिक पुष्पखेती सुरू गरेका साउँद दाजुभाइले यो वर्ष घुसुवा बालीको रुपमा मेवा समेत रोपेका छन्। अछामको मेल्लेख गाउँपालिका घर भएका साउँद दाजुभाइले कपिलवस्तुका भास्कर पङ्गेनीसँग मिलेर धनगढीसहित चार स्थानमा व्यावसायिक कृषि गरिरहेका छन्।
जेटिए पढेका साउँद पाँच वर्षदेखि व्यावसायिक कृषि गर्दै
कृषि विषयमा डिप्लोमा गरेका अछामको मेल्लेख गाउँपालिका–४ का रोसन साउँद र दशरथ साउँदले धनगढीसहित चार स्थानमा व्यावसायिक कृषि गरिरहेका छन्। कपिलवस्तुका भास्कर पङ्गेनीको संगत र प्रेरणाले पाँच वर्षअघिसम्म विभिन्न संस्थामा कृषि प्राविधिकको जागीर गर्दै आएका साउँद दाजुभाइ अहिले भने व्यावसायिक कृषिमा जमेका छन्।

पङ्गेनीसहित साउँद दाजुभाइले ‘१०८ दि डिभाइन एग्रो फार्म’ स्थापना गरेर धनगढी–९ बङ्ग्राकटानमा दुई बिघा जग्गा लिजमा लिएर पुष्पखेतीसँगै मेवाखेती गर्न थालेका छन्। पाँच वर्षदेखि कपिलवस्तु, दाङ र कोहलपुरमा व्यावसायिक कृषि गरिरहेका उनीहरूले गत वर्षदेखि धनगढीमा समेत व्यावसायिक कृषि सुरू गरेका हुन्। यो वर्ष साउँद दाजुभाइले दुई बिघामा १० हजार बोट सयपत्री लगाएका छन्। 

कर्मा ५५५ जातको सयपत्री फूल बारीमा ढकमक्क फुलेको छ। कृषि विषय पढेर स्वरोजगार हुन र स्वदेशमै  कृषि पेशाबाट आम्दानी गर्न सकिन्छ भनेर व्यावसायिक कृषिमा लागेको तीन जना साझेदार मध्येका कान्छा साझेदार रोशन साउँदले बताए। ‘कृषि पढेको भएर व्यावसायिक कृषि गर्न रहर लागेर आउँछ।

माटो र बिरुवासँग खेल्न पाउँदा निकै आनन्द आउँछ’, उनले भने, ‘कपिलवस्तुका अग्रज व्यक्तित्व भास्कर पङ्गेनी ज्यूको संगत र प्रेरणाले व्यावसायिक कृषि गर्न थालेका हौँ। अहिले धनगढीसहित चार ठाउँमा पुष्पखेतीसहित व्यावसायिक कृषि गरिरहेका छौँ।’ उनले अगाडि थपे, ‘स्वदेशमै कृषिमा केही गरेर रोजगारी सिर्जना गर्न र आर्थिक समृद्धि हासिल गर्न यो पेशामा लागेका हौँ।’
पुष्पखेतीसँगै मेवा र स्ट्रबेरी फलाउँदै
गत वर्ष पुष्पखेतीपछि स्ट्रबेरी उत्पादन गरेको बताउने साउँदले यो वर्ष सयपत्रीसँगै घुसुवा बालीको रुपमा मेवा लगाएका छन्। बारीमा नयाँ प्रयोग र अनुसन्धानका लागि तीन किसिमको मेवाको बोट लगाइएको छ। रेड लेडी, रेड बेबी र रेड रोयल जातको मेवा सयपत्रीसँगै बोटमा लटरम्म फलेको छ। साउँदले पुसमा आफूले उत्पादन गरेको मेवा बजारमा आउने बताएका छन्। उनले यो वर्ष स्ट्रबेरी खेतीसमेत विस्तार गर्ने बताएका छन्।
२५ हजार फूल र माला बिक्री गर्ने लक्ष्य
दशैंदेखि फूल र माला बिक्री गर्न थालेको बताउने कृषि फार्म सञ्चालक साउँदले यो वर्ष धनगढीको बारीबाट २५ हजार माला बिक्री गर्ने लक्ष्य लिएका छन्। सयपत्रीको सिजन समाप्त भएपछि स्ट्रबेरी रोप्ने र हिउँदमा स्ट्रबेरी फलाउने योजना रहेको उनले बताए।  कात्तिक १० गतेदेखि फूल टिप्न र माला उन्न मान्छे लगाउने साउँदले बताए। जसबाट स्थानीयले माला उन्न, फूल टिप्न र बजारीकरण गर्दा आम्दानी गर्न सक्ने उनको भनाई छ।

पुष्प खेती र फलफूल खेतीमा नयाँनयाँ प्रयोग र अनुसन्धान गर्दै स्थानीय किसानहरूलाई समेत आवश्यक परामर्श सेवा उपलब्ध गराउने साउँदको योजना छ। कृषि विषय पढेकाले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्दा थप नयाँनयाँ कुरा थाहा हुने अनुभव साउँदले गरेका छन्। उनले गड्यौला मल बनाउने र अन्य किसानलाई पनि व्यावसायिक कृषि सम्बन्धि परामर्श दिने गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस