सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईएसएफ जिम्नासाइडमा सहभागी हुने नेपाली टोलीको विदाइ

२०८१ कार्तिक ७, ०४:४९ खबर संवाददाता

धनगढीः बहराइनको मानमामा हुने आईएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन्।

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को आयोजनामा अक्टोबर २३ देखि ३१ तारिखसम्म हुने २० औं संस्करणको आईएसएफ जिम्नासाइडमा पारासहित २६ खेल समावेश छ। आईएसएफ जिम्नासाइडमा सहभागी हुन ३२ खेलाडीसहित ५८ सदस्यीय नेपाली टोली बुधवार बहराइन प्रस्थान गर्दै छ।

टोलीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, ब्राइट फ्युचर माविका संस्थापक प्रिन्सिपल दयाराम थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरेका हुन। नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका आईएसएफका कार्यकारी सदस्य राजकुमार कार्की भने आईएसएफको वार्षिक साधारण सभा र बैठकमा भाग लिन तथा विभिन्न तयारीका लागि बहराइन पुगिसकेका छन्।

बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा नेपालबाट ४ टिम सहभागी हुने छ। यस्तै बक्सिङ, टेबलटेनिस र तेक्वान्दो खेलमा पनि प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा सदीश प्रधान, विशाल महर्जन, प्रेमसुन्दर होना र शरद् दर्शनधारी तथा अफिसियलमा नवीन न्यौपाने छन् ।
 

कमेन्ट लोड गर्नुस