सुदूर नेपाललाई विश्वसँग जोड्दै

रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी

२०८१ कार्तिक ६, ०५:०१ खबर संवाददाता

एजेन्सीः उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको दाबी “आधारहीन’’ भएको दाबी गरेका छन्।

सियोलको जासुसी एजेन्सीले शुक्रवार प्योङयाङले रूसलाई सहयोग गर्ने सेना तैनाथ गरेको तथा एक हजार ५०० सेना रूसमा प्रशिक्षण गराइरहेको जनाएको थियो। उनले रुससँगको सैन्य सहयोगको आधारहीन विषयमा आफ्नो प्रतिनिधिमण्डलले प्रतिक्रिया दिन आवश्यक महसुस नगरेको संयुक्त राष्ट्रसङ्घीय महासभा समितिको बैठकमा बताएका थिए।

सियोलको दाबी उत्तर कोरियाको छवि बिगार्ने तथा सार्वभौम राज्यहरू बिचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई कमजोर पार्ने उद्देश्यले गरिएको उनले बैठकमा उल्लेख गरे। विश्वयुद्धपछि उत्तर कोरियाको स्थापना भएदेखि नै प्योङयाङ र मस्को सहयोगी रहँदै आएको र सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अझ नजिक भई लामो समयदेखि किम जोङ–अनले रूसमा हतियार पठाउँदै आएको दाबी सियोल र वासिङ्टनले गर्दै आएका छन्।

उत्तर कोरियाले भने उक्त सैन्य तैनातीबारे कुनै टिप्पणी गरेको छैन भने रूसले पनि सेना तैनाथ भएको पुष्टि गरेको छैन। यद्यपि  नेटो र अमेरिकाले पनि सेना  तैनाथीको पुष्टि गरेको छैन, तर दुवैले यसलाई लामो समयदेखि चलिरहेको युक्रेन द्वन्द्वमा सम्भावित खतरा वृद्धिको रूपमा लिएका छन्। 
 

कमेन्ट लोड गर्नुस