‘उज्यालो धनगढी’ अभियानः ३० स्थानमा जडान गरियो ‘हाइमास्ट’ लाइट
धनगढीः मुख्य–मुख्य सडकहरुमा उच्च क्षमताका लाइटहरु जडान गरिएपछि कैलालीको धनगढी आइपुग्ने यात्रुहरुलाई सहज भएको छ।
मुख्य सडकहरुमा लाइट जडान गरिएपछि रातको समयमा हुने चोरीका घटनामा समेत कमि आएको छ। यसका लागि धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान नै सञ्चालन गरेको छ। नगरक्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा नगरलाई सुन्दर र उज्यालो बनाउन उच्च क्षमताको स्मार्ट स्ट्रिट, स्ट्रिट लाइट र हाइमास्ट लाइट जडान गरिएको हो। यस्तो अभियान अहिले पनि जारी नै छ।
‘उज्यालो धनगढी’ अभियान अन्तर्गत रात्रिकालीन यात्रालाई सुरक्षित र सहज बनाउन तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य रहेको उपमहानगरपालिकाले जनाएको छ। हालसम्म यो अभियानअन्र्तगत त्रिनगर भन्सारदेखि ६ लेन सडकको गोदावरी नगरपालिकाको सिमानासम्म, हुलाकी सडक अन्तर्गत क्याम्पस चोकदेखि मनेहरासम्म, धनगढी एयरपोर्ट चोकदेखि एयरपोर्टसम्म, सहिदगेटदेखि क्याम्पस चोकसम्म, कैलालीपुलदेखि ट्राफिक चौराहसम्म, हसनपुर सडकलगायतका क्षेत्रमा सडक बत्ती जडान गरेर धनगढीलाई झिलीमिली बनाइएको छ।
साथै धनगढीको प्रवेशद्वार र भन्सार गेटमा फल्ड लाइट र स्ट्रिप लाइट तथा १४० ट्रि–गार्डमा समेत स्ट्रिप लाइट जडान गरिएको छ। स्ट्रिप लाइटमा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने निलो, रातो र सेतो रंग प्रयोग गरिएको छ। हालसम्म नगरक्षेत्रका ३० ठाउँमा हाइमास्ट लाइट जडान गरेर सञ्चालनमा ल्याइसकेको छ।
धनगढी उपमहानगरपालिकाका इलेक्ट्रोनिक ईन्जिनियर किसनसिंह शाहका अनुसार धनगढीमा ३० स्थानमा हाइमास्ट लाइट, २४० वटा स्मार्टस्ट्रिट लाइट र ५ सय ६३ को संख्यामा स्ट्रिटलाइट जडान गरिएको छ। अब १९ वटै वडाको आर्थिक चहलपहल हुने स्थानको चोकहरुमा हाइमास्ट लाइट राख्न आवश्यक पहल चालिएको शाहले बताए। ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत ३० वटा स्थानमा हाइमास्ट लाइट जडान गरिसकिएको छ भने बाँकी स्थानमा पनि जडान गर्ने प्रक्रिया अघि बढाइएको छ।