सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सशस्त्र प्रहरीकै भूतपूर्व जवानले जलाए सरकारी मोटरसाइकल

आगो लगाएर जलाएको वन कार्यालयको मोटरसाइकल। तस्बिरः पुष्कर भण्डारी
आगो लगाएर जलाएको वन कार्यालयको मोटरसाइकल। तस्बिरः पुष्कर भण्डारी
२०८१ कार्तिक ३, ०६:२६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा सरकारी मोटरसाइकलमा आगजनी गरिएको छ। सशस्त्र प्रहरीकै भूतपूर्व जवानले मोटरसाइकलमा आगजनी गरेको खुलेको छ।

जिल्लाको भित्री मधेश जोगबुडामा एक सरकारी मोटरसाइकलमा आगजनी गरिएको छ। जिल्लाको परशुराम नगरपालिका–५ स्थित परशुरामधाम सव–डिभिजन वन कार्यालयको मोटरसाइकलमा आगजनी गरिएको हो। परशुरामधाम सव–डिभिजन वन कार्यालयका प्रमुख ईश्वरीसिंह बोहरा र सुरेश खाती सवार सुदूरपश्चिम प्रदेश ००४–००१ ब ००१९ नम्बरको सरकारी मोटरसाइकल पार्किङ गरेर राखिएको अवस्थामा आगो लगाएको छ।

मोटरसाइकल जलाएको आंशकामा स्थानीय ४० वर्षीय धनगबहादुर चन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले बताएको छ। इलाका प्रहरी कार्यालय जोगबुडाका इन्चार्ज एवं प्रहरी निरीक्षक सुरज रोकायाका अनुसार मोटरसाइकल परिगाउँस्थित चन्दको घरमा राखेर वनका कर्मचारीहरू वडा नम्बर ३ को सिमल्टा गएका थिए। सोही समयमा मोटरसाइकलमा आगजनी गरिएको हो। 

सशस्त्र प्रहरीका भूतपूर्व जवान समेत रहेका चन्दले मदिरा सेवन गरेर मोटरसाइकल जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ। आगजनी गरिएको मोटरसाइकलसहित पक्राउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालय डडेलधुरा पठाइएको प्रहरी निरीक्षक रोकायाले बताएका छन्। वन कार्यालयको मोटरसाइकलमा आगजनी गर्नुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा आगजनी गर्नुको कारण जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गर्ने थप अनुसन्धानबाट मात्र खुल्ने प्रहरी निरीक्षक रोकायाले बताए। उनका अनुसार मोटरसाइकलमा आगजनी गरेको आंशकामा शुक्रबार चन्दलाई नियन्त्रणमा लिएको र आज जिल्ला प्रहरी कार्यालय पठाइएको हो।

कमेन्ट लोड गर्नुस