सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ जीप दुर्घटनाः मृतकको सामुहिक अन्त्यष्टि, धेरैका आँखा रसाए

२०७६ असार ४, ०६:३८ डीवि विष्ट

बझाङ–जिल्लामा हाल सम्मकै सबैभन्दा ठूलो जीप दुर्घटनामा परि मृत्यु भएका १० जनाको बुधबार सामुहिक अन्त्यष्टि गरिएको छ। जिल्ला अस्पतालबाट शव बुझेर मृतकका आफन्तहरुले सेती नदीको आर्यघाटमा सामुहिक अन्त्यष्टि गरेका हुन्। जिल्ला अस्पताल सिमखेतबाट मृतक १० जनाको शबयात्रामा मृतकका आफन्त, सदरमुकामबासी र शुभचिन्तकहरुको ठूलो सहभागिता थियो। १० जनाको शबयात्रामा आफन्त र अन्यको रुवावासी नै चलेको थियो। कोटदेबल गाउँका मृतक सात जना र रनाडा गाँउका मृतक २ जना गरि नौ जनाको सदरमुकाम चैनपुर पारिपट्टी धौलाबगर आर्यघाटमा सामुहिक अन्त्यष्टि गरिएको छ। जीपका चालक सुरेन्द्र थापाको भने जिनाडा गाउँको आर्यघाटमा अन्त्यष्टि गरिएको छ। दुर्घटनामा मृत्यु भएका एकै परिबारका कलक खड्का, उनकी श्रीमती जुनधारा खड्कालाई छोरा सन्देश खड्काले दागबत्ती दिएका थिए। सन्देशका भाई सारोज खड्का र बिपना खड्काको शव खाल्डोमा गाडिएको थियो। 

५० बर्षिया घौली देबी खड्का र छोरा हिक्मत खड्कालाई धौलीका श्रीमानले भारतबाट पुगेर दागबत्ती दिएका थिए। साथै मृतक जुना खड्कालाई पनि सोही आर्यघाटमा उनका छोराले दागबत्ती दिएका थिए। शबयात्रामा भेटिएका स्थानीय रामचन्द्र रोकायाले भने, ‘जिल्लामा यस्तो अप्रिय घटना कहिले पनि भएको थिएन र अब कहिले पनि यस्तो नहोस।’ यो घटनाले जिल्ला नै शोकाकुल भएपछि मष्टा गाउँपालिकाले आज औपचारिक रुपमा गाउँपालिका भित्र सार्बजनिक बिदा दिएको थियो। मृतक परिबारको क्षतीपुर्तीका लागी जीप मालिकले मृतक परिवारलाई तिन÷तिन लाखका दरले क्षतीपुर्ती दिने बताएका छन्। जिप दुर्घटनामा परि घाईते भएका पाँच जनाहरुको स्वास्थ्यमा सुधार हुदै गएको घाईतेका आफन्तहरुले जानकारी दिएका छन्। उनीहरुको नेपालगञ्जमा उपचार भईरहेको छ। 

 

 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस