सुदूरपश्चिममा १६ देखि २० वर्ष उमेरका ५८३ जना लागुऔषधसहित पक्राउ
धनगढीः सुदूरपश्चिममा सबैभन्दा बढी लागुऔषधको दलदलमा १६ देखि २० वर्ष उमेर समुहका किशोर/किशोरी र युवक/युवती फस्ने गरेको अध्ययनले देखाएको छ।
सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरबाट यी उमेर समुहका युवायुवती लागुऔषधसहित पक्राउ पर्ने गरेका छन्। आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्मको अवधिमा मात्र १६ देखि २० वर्ष उमेर समुहका ५ सय ८३ जनालाई लागुऔषधसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

२०७७ मा एक सय ४०, २०७८ मा एक सय ९९ र २०७९ मा २ सय ४४ जना किशोर/किशोरी र युवक/युवती लागुऔषधसहित पक्राउ परेका छन्। तीमध्ये एक सय २३ किशोरी र युवतीको संख्या रहेको छ। सो अवधिसम्म लागुऔषधसहित २ सय ७५ विद्यार्थी भएको समेत खुलेको छ।

प्रहरीले सो अवधिसम्म ५७ किलो गाजा, २ सय ६९ किलो चरेस र तीन किलो हिरोइन समेत बरामद गरेको छ। प्रदेशभित्र पछिल्लो समय लागुऔषधको समस्या विकराल रुपमा बढ्दै गएको प्रहरी जनाएको छ। यस्तो कार्यमा किशोर/किशोरी समेत फस्न थालेपछि अभिभावकलाई आफ्ना बालबालिका जोगाउन समेत मुश्किल हुने गरेको छ।