सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय वनरक्षकले गोली चलाउँदा एक नेपाली घाइते

२०८१ असोज २८, ०५:१५ खबर संवाददाता

बर्दियाः बर्दियामा भारतीय वनरक्षकले गोली चलाउँदा एक नेपाली घाइते भएका छन्।

बर्दियाको नेपाल–भारत सीमा क्षेत्रमा खेतमा काम गरिरहेका गुलरिया नगरपालिका–८ नारायण टोलका ४५ वर्षीय बलाराम लोध घाइते भएका छन्। भारतीय सीमानजिकको आफ्नो खेतमा काम गरिरहेको समयमा वनरक्षकले सीमापारिबाट गोली चलाएका हुन्। आइतबारराति करिब सात बजेको समयमा लोधलाई गोली लागेको उनका भाइ बाँकेलाल लोधले बताए।

घाइते लोधलाई गोली लागेपछि तत्काल बर्दिया अस्पताल ल्याइएको थियो। बर्दिया अस्पतालका अनुसार लोधको एक्सरे गर्दा करिब १५ वटा गोलीको छर्रा भएको पत्ता लागेको छ। उनलाई थप उपचारका लागि नेपालन्ज मेडिकल कलेज लगिएको छ। लोधसँगै खेतमा गएका थप तीनजनालाई गोली लागी सामान्य घाइते भएको खबर आएको गुलरिया नगरपालिका–८ का वडाध्यक्ष धर्मेन्द्र बानियाँले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

कमेन्ट लोड गर्नुस