घरमा कोही नभएको मौका छोपेर धनगढीका तीन घरमा चोरी
धनगढीः घरमा कोही नभएको मौका छोपेर धनगढीका तीनवटा घरमा चोरी गरिएको छ।
दशैंको समयमा एकैदिन तीनवटा घरमा चोरी गरिएको हो। धनगढी उपमहानगरपालिका–३ स्थित फिस रिसोर्ट नजिकै शिवलाल अर्यालको घरमा चोरी गरिएको छ। उनी दशैंको टीका लगाउन पुनर्वास गएको मौका छोपेर घरभित्रको दराज फोडेर करिब ७० हजार रुपैयाँ चोरी गरिएको छ।
घरभित्र चोर पसेर नगद चोरी भएको भन्दै घरधनी अर्यालले आइतबार दिउँसो १ बजे प्रहरीलाई खबर गरेका थिए। तर चोरीमा संकलग्न कुनै व्यक्तिको पहिचान भने हुन सकेको छैन्। सोही स्थानमा रहेको अर्को घरमा पनि चोरी गरिएको छ।आइतबार नै कल्पना विकको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनी टीका लगाउन माइती घर कञ्चनपुरको झलारी गएको मौका छोपेर घरको मुल ढोकाको ताल्ता नै तोडेर घरभित्र रहेको तीन तोला सुन चोरी भएको भन्दै विकले प्रहरीले जानकारी गराएकी छन्। तर चोरीमा संलग्नको अझै पहिचान हुन सकेको छैन्।
यस्तै धनगढी उपमहानगरपालिका–१३ नवदुर्गा टोलको एक घरमा पनि चोरी भएको छ। टेकेन्द्रबहादुर कुँवरको घरबाट २१ हजार रुपैयाँ चोरी भएको छ। आइतबार यी तीनवटै घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले बताए।