सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडकमा म्याद थपको बिषय अझै अन्योलमा

२०७६ असार ४, १०:५४ कमल सावद

मोहनापुल–अत्तरिया ६ लेन सडक योजनाको म्याद थपको बिषय अझै अन्योलमा छ। ठेक्का सम्झौता अनुसारको निर्माण अवधी सकिएको एक महिना पुगेपनि अहिले सम्म म्याद थपको निर्णय हुन नसकेको हो। निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन योजना कार्यालयलाई दिएपनि अहिले सम्म म्याद थपको निर्णय भएको छैन्।
मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तरगत दोश्रो र तेश्रो प्याकेजको निर्माण अवधि गत बैशाख ३० गते सकिएको थियो, भने पहिलो प्याकेजको भने जेठ ९ गते समय सकिएको थियो। २०७४ जेठमा शर्मा अमर नागार्जुनले मोहनापुलदेखि बोराडाँडी सम्म, लुम्विनी राजेन्द्र डाँफे र लामा राजेन्द्र डाँफेले बोराडाँडीदेखि अत्तरिया सम्म सडक निर्माणको ठेक्का पाएका थिए। 
म्याद सकिएपछि निर्माण कम्पनीहरुले योजना कार्यालयलाई डेढ बर्ष म्याद थपका लागि निवेदन दिएका छन्। योजना कार्यालयले पनि उत्तर दक्षिण व्यापारीक मार्ग आयोजना कार्यालयलाई म्याद थपका लागि स्विकृती मागेको छ। तर योजना कार्यालय भने बढिमा एक बर्ष मात्रै निर्माण अवधी थप्ने मनसायमा रहेको योजना प्रमुख होमवहादुर एसीले बताए। सडकको क्षेत्राधिकार खाली नहुनु, विद्युतका पोल र पानीका पाईप सार्न ढिलाई र रुख कटानीमा भएको ढिलाईले निर्माणमा ढिलाई भएको भन्दै निर्माण अवधी डेढ बर्ष नै बढाउनुपर्ने अडान निर्माण कम्पनीहरुको छ।
एकातिर ठेक्का सम्झौताको अवधी सकिएर म्याद थप भएको छैन् भने, अर्को तर्फ निर्माण समेत लगभग ठप्प हुँदा स्थानीय निराश भएका छन्। धनगढी मालिका टोलकी राधादेवी बोहराले कल्र्भटको काम समेत सम्पन्न नभएपछि बर्षातमा समस्या हुने बताइन्। 
निर्माणको अवधी सकिएपनि मोहनापुल–अत्तरिया ६ लेन सडकको भौतिक प्रगति ४० प्रतिशतको हाराहरीमा मात्र छ। दोश्रो र तेश्रो प्याकेजमा भने निर्माण भईरहेको दावी निर्माण व्यवसायीको छ। राजेन्द्र निर्माण सेवाका कार्यकारी निर्देशक रोशन भट्टले म्याद थपका लागि निवेदन दिएको र निर्माण पनि भईरहेको दावी गरे। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस