दिनेश एफएमबाट चोरी भएको मोटरसाइकल अझै फेला परेन
धनगढीः दिनेश एफएम धनगढीबाट चोरी भएको मोटरसाइकल अझै फेला परेको छैन्।
चोरी भएको मोटरसाइकल खोजीकार्य गर्न सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख (डिआइजी) रविन्द्र केसीले जिल्ला प्रहरी कार्यालय कैलालीलाई लिखित रुपमै निर्देशन दिएका छन्। तर पनि अहिलेसम्म चोरी गरिएको मोटरसाइकल फेला परेको छैन्। प्रदेश प्रहरी कार्यालयमा असोज १३ गते सुदूरपश्चिम प्रदेश ०१–०१०–प ५६२० नम्बरको बजाज कम्पनीको २२० मोटरसाइकल चोरी भएको भन्दै मोटरसाइकल धनीले निवेदन नै दर्ता गरेका थिए।
जिल्ला प्रहरी कार्यालय, कैलालीमा २०८१ भदौ १४ गते दर्ता भएको निवेदनको ४२ दिनसम्म चोरी भएको सो मोटरसाइकल फेला नपरेपछि प्रदेश प्रहरी कार्यालयमा किटानी जाहेरी नै दर्ता गरिएको थियो। तर चोरी गरिएको मोटरसाइकल अझै फेला नपरेको मोटरसाइकल धनीको गुनासो छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले मोटरसाइकल चोरीमा सङ्लग्नको खोजीका लागि प्रहरी परिचालन गरिएको बताउँदै आएको छ।
धनगढी उपमहानगरपालिका–४ दिनेश एफएमबाट असोज १३ गते साँझ मोटरसाइकल चोरी भएको थियो। सो मोटरसाइकल धनगढी–२ का निरजकुमार मण्डलबाट खरिद गरिएको थियो। प्रहरीले मोटरसाइकल बिक्री गर्ने मण्डलको चोरीमा संलग्नता रहेको हुन सक्ने आंशका मोटरसाइकल धनीको छ। सोही आंशकामा मण्डललाई नियन्त्रणमा समेत लिइएको थियो। तर पनि मोटरसाइकल फेला पर्न सकेको छैन्।
चोरी भएको सो मोटरसाइकल भारतको सुडाबजारतिर लगेको सूचना समेत प्रहरीले प्राप्त गरेको मोटरसाइकल धनीको दाबी छ। चोरी भएको सो मोटरसाइकल भारतीय बजार सुडातिर गएको डुङ्गा सञ्चालन गर्दै आएकाहरूले समेत बताएका छन्। डुङ्गा चलाउनेहरूले मोटरसाइकलको तस्विर हेर्दै भने, ‘प्रहरी आएन। २२० पल्सरलाई हामीले नदी तराएका हौ। उहाँसँग पैसाको विषयमा विवाद भएको थियो।
नम्बर याद भएन। कलर यस्तै थियो। चक्कामा स्टिकर पनि यही थियो। हेलमेट थिएन। कालो, अलि होचो–होचो मान्छे। चौधरी जस्तै बोलि भएको थियो।’ जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कविन्द्र बोहराले भारतीय बजार सुडामा पनि मोटरसाइकलको खोजी गर्ने आश्वासन दिए। मोटरसाइकल खोजीका लागि निवेदन दर्ता भएपछि प्रहरी नायब निरीक्षक गजेन्द्र चन्दलाई खोजीको जिम्मा दिइएको थियो।
त्रिनगर प्रहरी चौकीले सुरुकै दिन नियन्त्रणमा लिएर छोडेका निरजकुमार मण्डलसहितका तीन जनालाई नियन्त्रणमा लिनुका साथै दुईवटा सिसी क्यामराको अवलोकन र चोरीका घटनाहरूमा संलग्नहरुसँग चन्दले सोधपुछ गरेका थिए। कैलाली प्रहरीले २४ दिनमा धनगढीमा २ वटा क्यामराको मात्र अवलोकन गरेको छ।
मोटरसाइकल खोजी गर्न भदौ २१ गते एक प्रहरी जवान भारतीय बजार सुडा, चन्दनचौक लगायतका गाउँमा पुगेका थिए। तर कुनै पत्तो लागेको छैन्। नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार, पत्रकार महासङ्घ, कैलालीका अध्यक्ष हिमाल जोशीले कैलालीमा चोरहरूको बिगबिगी बढेको गुनासो एसपी पदमबहादुर विष्टलाई गरेका छन्। सचिव सुनारले चोरीको मोटरसाइकल फेला पर्दा पनि प्रहरीले नियन्त्रणमा नलिएको घटना नै उनलाई सुनाएका थिए।
कैलालीको घोडाघोडी नगरपालिकाबाट चोरी भएको मोटरसाइकल गौरीगंगा नगरपालिकामा सञ्चालनमा रहेको जानकारी प्रहरीमा दिँदा पनि नियन्त्रणमा नलिएको उनको भनाई छ। तर प्रहरी प्रमुख विष्टले भने चोरीमा संलग्नहरुको खोजीकार्य जारी रहेको प्रतिक्रिया दिएका थिए। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीले टेलिफोन र पत्रमार्फत कैलाली र कञ्चनपुर प्रहरीलाई चोरी गरिएको मोटरसाइकल खोजी गर्न निर्देशन दिएका थिए। तर, डिआइजी केसीले निर्देशन दिएको १२ दिनसम्म पनि देखिने गरी कुनै काम भएको छैन्। निवेदनमा नाम किटानी गरेका व्यक्तिको घरमा भने प्रहरी पुग्ने गरेको छ।