सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्षेत्रीय सहरी विकास अन्तर्गत साढे १० किलोमिटर सडक कालोपत्र

२०८१ असोज २३, ०६:३५ कमल सावद

धनगढीः कैलालीको धनगढीमा क्षेत्रीय सहरी विकास अन्तर्गत साढे १० किलोमिटर सडक कालोपत्रको काम पूरा भएको छ।

धनगढीको मुख्य सडकसहित बजार क्षेत्रका सडक कालोपत्रको काम पुरा भएको हो। २०७७ असार २८ गते सम्झौता गरिएको सडक निर्माणको काम लामो समयपछि सम्पन्न भएको छ। क्षेत्रीय सहरी विकास आयोजना, धनगढीका सूचना अधिकारी शौरभ कलौनीले सडक कालोपत्रको काम सकिएको बताए।

उनले भने, ‘सडक तथा नाली निर्माणको काम सकिएको छ। केही सुधार गर्नुपर्ने कामहरु छन। दबिएका ठाउँमा मर्मत गर्न बाँकी छ।’ एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण थालिएका सडकको थप गरिएको समय २०८१ भदौमा सकिएको छ। तर, निर्माण कम्पनीले भत्किएको सडक मर्मत, खानेपानीले बिगारेको सडक मर्मत, फुटेका टाइलहरु परिवर्तन, ट्राफिक सङ्केतहरु जडान, ग्रिल विस्तारको काम भने सकेको छैन।

तर, एक वर्षको मर्मत अवधि रहने भन्दै हस्तान्तरणको प्रक्रिया थालिएको छ। क्षेत्रीय सहरी विकासले धनगढी चौराहदेखि कैलाली पुल सडक खण्डमा एउटा कल्भर्ट निर्माणको काम थप गरेको थियो। एलएन चोकदेखि राष्ट्र बैँकसम्म ४५० मिटर सडक निर्माणको काम थप गरिएको हो। थप गरिएका भौतिक संरचना निर्माणको काम पनि पूरा भएको छ। सडक बत्तीमा ६० वाटका बल्बहरु रहेकोमा १२० वाटका जडान गरिएका छन्।

सडकको मिडियन तथा फुटपाथमा तारजालीसहितको वृक्षारोपण, ग्रिल जडान, ट्राफिक सङ्केत तथा रङ्गरोगनको काम सकिएको छैन। दशैपछिसम्म उक्त काम सकिने बताइएको छ। धनगढी ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४३० मिटरको मालपोत सडक, एक दशमलव १५ किलोमिटरको हसनपुर सडक र एलएन चोक–राष्ट्र बैँक ४५० मिटर सडक कालोपत्रको काम पूरा भएको आयोजना कार्यालयले जनाएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस