सुदूर नेपाललाई विश्वसँग जोड्दै

असहाय तथा बेवारिसे मानसिक बिरामीको निःशुल्क उपचार हुने

। फोटो स्रोत ।
२०७६ असार ३, ०६:०२

सरकारले अशक्त, असहाय र बेवारिसे मानिसक रोगी तथा मनोसामाजिक समस्या भएका बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ। यस्ता बिरामीको उपचार तथा पुनस्थापनाका लागि सरकारले देशभरका ७ वटा संस्थालाई छनोट गरेको छ। जसमा भरतपुर अस्पताल, चितवन, धुलिखेल अस्पताल, धुलिखेल, काभ्रे, रिदम न्युरोसाईक्याट्रिक हस्पिटल एन्ड रिसर्च सेन्टर, जावलाखेल, ललितपुर, कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन), बागडोल, ललितपुर, मेरिनोल नेपाल, नयाँपाटी काठमाडौं, मानव सेवा आश्रम, हेटौंडा, मकवानपुर, र नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक पुनस्थापना केन्द्र, नेपालगञ्ज, बाँके रहेका छन्।

छनोटमा यी परेका संस्थाहरुले बिरामीको उपचार सेवा दिएवापत सरकारबाट बिल अनुसार रकम पाउने छन् भने, बिरामीले उपचार तथा पुनस्थार्पना सेवा लिएवापत कुनै रकम तिर्नु नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असार १ गते उपचार र पुनस्थार्पना सेवा दिने ७ वटा संस्था छनोटको निर्णय गरेको हो। 
महाशाखाले अशक्त असहाय र बेवारिसे मानसिक रोग वा मनोसामाजिक समस्या भएका बिरामीहरुको उपचार तथा पुर्नस्थापनाको कार्यक्रम सञ्चालन कार्यविधि २०७६ अनुसार यो सेवा दिन लागेको हो। सो कार्यविधि गत १६ बैशाखामा उपप्रधान एवं स्वास्थ्य मन्त्री स्तरीय निर्णयबाट पास भएको थियो।

उक्त कार्यविधिमा मानसिक रोग र मनोसामाजिक समस्या भएका अशक्त असहाय र वेवारिसे विरामीको उपचार अस्पतालमा भए प्रतिदिन ६ सय र पुर्नस्थापना केन्द्रमा भए प्रतिदिन ५ सय रुपैयाँ उपलव्ध कायम गर्ने उल्लेख छ।

यस्तै कार्यविधिमा मनोचिकित्सकको प्रेस्किप्सन अनुसार र गैरसरकारी, निजी अस्पताल, पुनस्थापना गृह सञ्चालन गर्ने सामाजिक संस्था वा नीजि संस्था रहेको स्थानीय तहबाट प्रमाणित औषधिको विलको आधारमा प्रतिमहिना प्रतिव्यक्ति ४ हजार रुपैयाँ नबढ्ने गरी उपलव्ध गराउने व्यवस्था उल्लेख गरिएको छ। गत वैशाखमा उक्त कार्यविधि पास भएको हो।

कमेन्ट लोड गर्नुस