सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलाहरुद्धारा गाउँमा उत्पादित दूध सङ्कलन गरी ‘डेरी फार्म’ सञ्चालन

। फोटो स्रोत ।
२०७६ असार ३, ०५:२७

रामपुरका महिलाहरुले गाउँमा उत्पादित दूध संकलन गरि डेरी फार्म सञ्चालन गरेका छन्। रामपुर नगरपालिका–१० का आधारशिला सामाजिक महिला उद्यमी सहकारी संस्थामा आबद्ध महिलाहरुले गाउँमा उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री–वितरण गर्ने उद्देश्यले डेरी सञ्चालन गरेका हुन्।

डेरी सञ्चालन गरी घरबाटै दूध सङ्कलन गरी बजारमा बिक्री गरिदै आएको छ। सङ्कलित दूध स्याङ्जाको गल्याङ बजारमा खपत हुँदै आएको छ। सहकारीमा आबद्ध शेयर सदस्यले उत्पादन गरेको दूधलाई सहज रुपमा बजारसम्म लैजान डेरी सञ्चालन गरेको अध्यक्ष सीता देवकोटाले बताए। दूध नबिक्ने समस्याले महिलालाई पिरोल्न थालेपछि दूध व्यवस्थापन र आर्थिक अवस्था उकास्न डेरी शुरु गरेको उनको भनाइ थियो।       

“सहकारीमा आबद्ध सदस्यको घरबाट दूध सङ्कलन गरेका छौँ, सहकारीबाहेकका कृषकले उत्पादन गरेका दूध खरीद गरेर बिक्री गर्ने योजना छ” उनले भने। स्थानीय बजारमा दूध कम खपत हँुदा बिक्री गर्न कृषकले समस्या भोग्दै आएका थिए। अहिले सहकारीले डेरी सञ्चालन गरी दूध खरीद–बिक्री गर्न थालेपछि सजिलो भएको लक्ष्मी ओस्ती बताउछिन्। “पहिला दूध बिकाउनै समस्या थियो बजार नजीक थिएन, सहकारीले डेरी चलाएपछि दूध नबिक्ने समस्या हटेको छ”, उनले भनिन्। उनको घरमा पाँच वटा उन्नत जातका भैँसी छन्। दैनिक २० लिटर दूध बिक्री गरी मासिक रु ८० हजारसम्म कमाई हुने गरेको ओस्तीले बताइन। दूध बिक्रीबाटै घरायसी खर्च, छोराछोरीको पढाइ खर्च चलाउन सजिलो परेको उनको अनुभव छ। 

त्यसैगरी सोही ठाउँकै अनिता भण्डारीले पनि दूध बिक्रीबाट राम्रो कमाई गर्छन। दैनिक १५ लिटर दूध बिक्री गरी मासिक ४० हजार आम्दानी गरेको उनले बताइन्। महिलाहरुले उत्पादन गरेको दूध बिक्री गर्न सहज होस् भनेर दुई लाख ५० हजारको लागतमा सो डेरी सञ्चालन गरेको सहकारीले जनाएको छ। सहकारीमा आबद्ध पाँच जना महिलाले व्यावसायिक रुपमा पशुपालन गरेका छन्। दूध बिक्रीको व्यवस्था सहकारीले गर्न थालेपछि अन्य महिलाले पनि पशुपालनलाई व्यावसायिक तवरले सञ्चालन गर्ने तयारी गरिरहेका छन्। डेरीबाट दुई जना स्थानीयवासीलाई रोजगार मिलेको छ।

दूध र पानीको मात्रा मापनका लागि सहकारीलाई ‘मिल्क एनालाइजर मेशिन’ प्राप्त भएको छ। हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास सङ्घ रेडा पाल्पाको सहयोगमा रु पाँच लाख ३० हजार मूल्यको मेशिन सहयोग मिलेको सहकारीले जनाएको छ।

विसं २०६९ मा स्थापना भएको यस सहकारीमा ३५० जना शेयर सदस्य रहेका छन्। सहकारीले महिलाहरुलाई आर्थिक क्षेत्रमा बलियो बनाउने खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। सहकारीको माध्यमबाट गाउँका महिलाहरुको आर्थिक स्तर उकासिँदै गएको पाइएको छ। सहकारीबाट ऋण झिकेर कृषि तथा पशुपालन क्षेत्रमा लगानी लगेर आम्दानी गर्न सफल भएका छन्।  रासस
 

कमेन्ट लोड गर्नुस