सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट आज ८१३ जना सुदूरपश्चिम भित्रिए, चेकजाँचमा कडाई

२०८१ असोज १९, ०६:४४ खबर संवाददाता

धनगढीः चाडपर्व सुरु भएसँगै भारतका विभिन्न सहरबाट घर फर्कनेको सीमा नाकामा घुँइचो लाग्न थालेको छ।

घटस्थापनायता दैनिक एक हजारको संख्यामा भारतका विभिन्न सहरबाट घर श्रमिकहरु स्वदेश फर्किरहेका छन्। सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालक केन्द्रले संकलन गरेको विवरण अनुसार हाल दैनिक एक हजारको संख्यामा सीमा नाका हुँदै श्रमिकहरु स्वदेश फर्किरहेका छन्।

आज (शनिबार) मात्र भारतका विभिन्न सहरबाट ८ सय १३ जना सुदूरपश्चिम भित्रिएका छन्। सबैभन्दा बढी कैलालीको गौरीफन्टा नाकाबाट तीन सय ६५ र सबैभन्दा कम पुलघाट नाका दार्चुलाबाट ३० जना स्वदेश फर्किएका छन्। कञ्चनपुरको गड्डाचौकी नाकाबाट तीन सय ७, झुलाघाट नाका बैतडीबाट ३५ र खकरुला हेल्थ डेस्क ७६ गरेर ८ सय १३ जना सुदूरपश्चिम भित्रिएका छन्। 

चाडपर्वको समयमा त्रिनगर नाकाको पाँच सय मिटर क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरी, एक ठाउँमा भन्सार कार्यालय, एक ठाउँमा नेपाल प्रहरी, एक ठाउँमा भारतीय भन्सार र एक ठाउँमा सीमा सुरक्षा बल एसएसबीले जाँच गर्दै आएको छ।

त्रिनगर नाकामा आवागमनलाई सहज बनाउन हेल्प डेस्क समेत राखिएको छ। नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ भने सशस्त्र प्रहरीले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। भारतबाट भित्रिएका श्रमिकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचमा कडाई गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस