सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक वर्षका २९ दिन बाँकी : कैलालीमा सडक कालोपत्रेका योजनाको सम्झौता नै भएन

२०७६ असार ३, ०१:०६ कमल सावद

आर्थिक वर्ष सकिन अब २९ दिन मात्र बाँकी छन्। तर कैलालीमा स्थानीय तहले ल्याएका सडक कालोपत्रेका योजना कार्यान्वयन गर्न नसकेको पाईएको छ। आर्थिक वर्ष सकिने बेला सम्म जिल्लाका अधिकांश स्थानीय तहले कालोपत्रेका योजनामा ठेक्का सम्झौता नै नगरेको पाईएको छ। निर्माण सुरु भएका स्थानीय तहमा पनि कालोपत्रेको काम कछुवा गतिमा रहेको छ। स्थानीय तहहरुले अब हतार हतारमा सडक कालोपत्रेको काम सुरु गरी बजेटको दुरुपयोग गर्ने आशंका गरिएको छ। जिल्लाको बर्दागोरिगा, जोशीपुर र जानकी गाँउपालिकाले सडक कालोपत्रेका योजना कार्यान्वयन गर्नका लागि ठेक्का सम्झौता समेत नगरेको भेटिएको छ।

जानकी गाँउपालिकाले ४ करोडको लागतमा चार किलोमिटर, बर्दागोरिया गाँउपालिकाको एक करोड २३ लाखको लागतमा दुई किलोमिटर र जोशीपुर गाँउपालिकाको १५ सय मिटर सडक कालोपत्रे गर्ने वार्षिक लक्ष्य लिएका छन। तर ठेक्का सम्झौता नै नभएपछि लक्ष्य प्राप्त नहुने देखिएको छ। बर्दागोरिया गाउँपालिकाका अध्यक्ष बलीराम डगौरा थारुले दुई किलोमिटर कालोपत्रेको योजना रहेको बताए। जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले चार किलोमिटर कालोपत्रे सडकका लागि काम सुरु नभएको जानकारी दिए। सडक कालोपत्रेका लागि ठेक्का सम्झौँता गरेका स्थानीय तहले पनि कामलाई तिव्रता नदिएको देखिएको छ।

कालोपत्रेका लागि झण्डै, ७ करोड बढि बजेट विनीयोजन गरेको प्रत्येक वडामा आठ– आठ मिटर सडक कलोपत्रे गर्ने लक्ष्य लिएको छ। तर सबै वडामा काम सुचारु हुन सकेको छैन्। पाँच किलोमिटर बढि सडक कालोपत्रे गर्ने लक्ष्य लिएको घोडाघोडी नगरपालिकाले पनि सबै सडकहरुको काम पूर्ण गरेको छैन गौरीगंगा नगरपालिकाको पनि धेरै सडक कालोपत्रे योजनाहरुको काम बाँकी छ। नौ करोड कालोपत्रेका लागि विनियोजन गरेको नगरपालिकाले चालु आर्थिक वर्षको एक महिना पनि बाँकी नभएकाले सडक निर्माणको काम गर्न सकेको छैन्। घोडाघोडी नगरपालिकाका प्रवक्ता मनराज शाहीले निर्माण सम्झौता भएपनि कामले गती नलिएको बताए।

गौरीगंगा नगरपालिकाका प्रवक्ता नरेन्द्र शाहले सडक निर्माणको ठेक्का भएपनि काम अलपत्र रहेको बताए। उनले वडा नम्बर ६ मा मात्र कालोपत्रेको काम पूर्ण भएको बताए। गोदावरी नगरपालिकाले पनि सबै वडाहरुमा काम जारी रहेको जनाएको छ। तर कालोपत्रेको काम सम्पन्न भने भएको छैन्।  ९ दशमलव ४ किलोमिटर सडक कालोपत्रेका लागि गोदावरी नगरपालिकाले ६ करोड ४ लाख वजेट विनियोजन गरेको छ। गोदावरी नगरपालिकाका ईन्जिनियर रुद्रबहादुर बोगटीले केही वडाहरुमा मात्र काम भएको बताए। 

धनगढी उप–महानगरपालिका र टिकापुर नगरपालिकाका सडक कालोपत्रेका योजनहरु अन्य स्थानीय तहको भन्दा धेरै छन्। तर  योजनाहरु कार्यान्वयनको अवस्था कस्तो छ? भन्ने विषयमा प्राविधिकहरु पनि अन्यौलमा रहेका छन्। धनगढी उप–महानगरपालिकाले कालोपत्रे सडक योजनाहरुको प्रगतिको तथ्याँक संकलन गर्न रहेको बताएको छ। धनगढी उप–महानगरपालिकाका डिभिजन ईन्जिनियर दीजराज भट्टले तथ्याँक संकलनको काम भइरहेको बताए। सबै वडाहरुमा काम जारी रहेको उनको दावि छ। कैलालीका दुई स्थानीय तह भने कालोपत्रे सडक योजना विहिन छन्। कैलालीका चुरे र मोहन्याल गाँउपालिकासंगे सडक कालोपत्रेका योजना छैनन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस