सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर नाकाको ५ सय मिटर क्षेत्रमै पाँच स्थानमा सुरक्षाकर्मीको पोष्ट खडा

२०८१ असोज १८, ०१:०१ खबर संवाददाता

धनगढीः चाडपर्व सुरु भएसँगै यतिबेला सीमा क्षेत्रमा घर फर्किनेको अत्यधिक घुइँचो छ।

सुदूरपश्चिमेलीको मुख्य रोजगारस्थल भारतका विभिन्न सहर हुन्। दशैं तिहारको अवसर पारेर धेरैजसो घर फर्किने गर्छन्। नेपाली सीमाप्रवेश गरिसकेपछि करिब पाँच सय मिटरको दूरीमा भन्सार कार्यालयबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक गरी पाँच ठाउँमा सुरक्षाकर्मीले पोस्ट खडा गरेका छन्।

तीमध्ये दुई ठाउँमा सशस्त्र प्रहरी र ट्राफिक प्रहरीसहित नेपाल प्रहरीले दुईवटा युनिटले अलग–अलग ठाउँमा चेक गर्ने गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सीमा क्षेत्रमा ट्राफिक र प्रहरी गरी नेपाल प्रहरीका दुईवटा टोलीले चेक गर्ने गरिएको छ।

सीमा सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरीले जनाएको छ। यस्तै, सशस्त्र प्रहरी बल ३४ नम्बर गणका प्रमुख दलबहादुर पाण्डे कसैले पनि अनावश्यक सास्ती खेप्नु नपरोस् भन्नेमा सतर्क रहेको बताए। सीमा क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरीको प्वाइन्ट छ। ती मध्ये दुई ठाउँमा चेक हुन्छ।

सुरक्षा संवेदनशीलता, अवैध सामग्री भित्रिन नपाओस् र राजश्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखेको सशस्त्र प्रहरी बलले बताउँदै आएको छ। त्रिनगर नाकाको पाँच सय मिटर क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरी, एक ठाउँमा भन्सार कार्यालय, एक ठाउँमा नेपाल प्रहरी, एक ठाउँमा भारतीय भन्सार र एक ठाउँमा सीमा सुरक्षा बल एसएसबीले चेकजाँच गर्दै आएको छ। केही दिनअघि मात्रै भारतको गौरीफन्टामा भएको दुई देशका सुरक्षाकर्मीको समन्वयात्मक बैठकले आवागमनलाई सहज बनाउने सहमति गरिएको थियो।

कमेन्ट लोड गर्नुस