सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक कालोपत्रको माग गर्दै गोदावरी नगरपालिका घेराउ

२०८१ असोज १६, ०४:४३ खबर संवाददाता

धनगढी : सडक कालोपत्रको माग गर्दै कैलालीको गोदावरी नगरपालिकाको कार्यालय घेराउ गरिएको छ। गोदावरी नगरपालिका–९ को कार्यालयमा चार दिनदेखि ताला लगाइएका स्थानीयले बुधवार नगरपालिकाको कार्यालय घेराउ गरेका हुन।

उनीहरुले धनगढीको बेला–मुर्कटी सडक कालोपत्रका माग गर्दै सङ्घर्ष गर्दै आएका छन्। गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन्। धनगढी–सेहरी सडक कालोपत्रका लागि बजेट विनियोजन गर्नुपर्ने माग उनीहरूको छ। स्थानीयले सङ्घर्ष समिति गठन गरेर वडा कार्यालयमा ताला लगाएका थिए।

सङ्घर्ष समितिले गोदावरी नगरपालिका–९ का वडाध्यक्ष रामलाल रानालाई असोज ७ गते ज्ञापनपत्र बुझाएको थियो। वडाध्यक्ष रानाको गोदावरी नगरपालिका र प्रदेश सरकारसम्म पहुँच नभएकाले वडामा योजना नआएका उनीहरूको आरोप छ। धनगढी–सेहरी–मुर्कटी सडकमा ग्राभेलसमेत नगरेको भन्दै उनीहरूले गोदावरी नगरपालिकाको कार्यालय घेरेका छन।

नगर प्रमुख वीरेन्द्र भट्टसँग छलफलसमेत गरेका थिए। तर, नगर प्रमुख भट्टसँगको छलफल निष्कर्ष विहीन भएपछि चार दिनदेखि वडा कार्यालयको काम प्रभावित भएको छ। 

गोदावरी–९ का स्थानीयको कृषि उत्पादनको बिक्री, रोजगार तथा काम गर्न, औषधी–उपचारका लागि धनगढी आउनु पर्ने हुन्छ। तर, सडकमा खाल्डै खाल्डा रहेकाले समस्या हुने गरेको स्थानीय गगन साउँदले बताए। उनले भने, ‘गोदावरी नगरपालिकाको बिकट वडा हो। अत्तरिया जान १८ किलोमिटर हो। धनगढी जान ६ किलोमिटर छ। स्थानीय तह बन्दा उपमहानगरपालिकामा जोड्न भनेका थियौ। आन्दोलन गरेका थियौ। तर, वडामा सुविधा आउने भनेका थिए। हाम्रो कामहरू सुनुवाइ भएका छैनन।’

गोदावरी नगरपालिका–९ का गर्भवती महिला र धनगढी कामको लागि आउने महिलाहरूलाई बढी सास्ती रहेको छ। उनीहरूले वडा कार्यालयसम्म आउन समेत सडकको समस्या रहेको बताएका छन्। धनगढीको बेला–मुर्कटी सडक कालोपत्रका लागि बजेटको माग गर्दै उनीहरूले आन्दोलन गर्दै आएका हुन।

 

कमेन्ट लोड गर्नुस