सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

२०८१ असोज १५, १०:२४ खबर संवाददाता

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्।

ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–४ बगरकोटस्थित सदरमुकामबाट पाल जाँदै गरेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ४० वर्षीय एक जना घाइते भएका छन्। उनलाई उपचारको लागि धनगढी ल्याएको छ।

कैलालीको चुरे गाउँपालिका–३ सहजपुर बजारस्थित धनगढीबाट बझाङ जादै गरेको बसले बुडरबाट धनगढी आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा २२ वर्षीया एक महिलासहित २ जना घाइते भएका छन्। घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१८ डिपो बजार मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३० वर्षीय एक पुरुष र ४५ वर्षीया एक महिला घाइते भएका छन्।

घाइते दुबै जनालाई उपचारका लागि निसर्ग अस्पताल पठाइएको छ। गौरीगंगा नगरपालिका–१ चौमालामा पनि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलले छाडा पशु चौपायालाई बचाउने क्रममा अनियन्त्रित भएर पल्टिदा ५८ वर्षीय एक पूरुष घाइते भएका छन्। घाइतेको लाइफ केयर क्लिनिक चौमालामा उपचार भइरहेको छ।

गौरीगंगा नगरपालिका–३ वासुदेवस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलले बाटो क्रम गर्ने समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा २३ र ३५ वर्षीय २ जना घाइते भएका छन्। उनीहरुको पनि सोही क्लिनिकमा उपचार भइरहेको छ।

उता डडेल्धुराको अमरगढी नगरपालिका–५ रानीधरास्थित सदरमुकामबाट तुफाँनडाँडा जाँदै गरेको मोटरसाइकलले पैदलयात्रीलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा एक ४२ वर्षीय पुरुष घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। प्रदेशका विभिन्न स्थानमा भएका सवारी छुट्टाछुट्टै दुर्घटनामा ११ जना घाइते भएको केन्द्रको विवरणमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस