सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्रीको पालिकामा बजेटको ओहिरो

२०८१ असोज १४, ०९:५७ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालको पालिकामा साढे २३ करोड बजेट विनियोजन गरिएको छ।

६ वडा रहेको बैतडीको डिलासैनी गाउँपालिकाभित्र सडक, कुलो, तटबन्ध र खानेपानीका योजनामा सबैभन्दा बढी बजेट विनियोजन गरिएको हो। डिलासैनी गाउँपालिकामा ४६ वटा सिँचाइ र तटबन्धका योजनामा मात्रै थप ८ करोड ६७ लाख ७० हजार बजेट विनियोजन गरिएको छ। डिलासैनीमा १६ वटा सडक निर्माणका लागि ५ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ।

भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालको गृह पालिका बैतडीको डिलासैनीमा प्रदेश सरकारले १२७ योजनामा बजेट विनियोजन गरेको हो। चालु आर्थिक वर्ष २०८१÷८२ को बजेटमा साबिकका चार गाउँ विकास समिति मिलेर बनेको ६ वडा रहेको पालिकामा प्रदेश सरकारले २३ करोड ४४ लाख २० हजार बजेट विनियोजन गरेको हो।

भौतिक पूर्वाधार विकास मन्त्री पालले सिँचाइ र तटबन्धका ४६ योजनामा ८ करोड २६ लाख ७० हजार बजेट विनियोजन गरेका छन्। सिँचाइ र तटबन्धका योजनामा कम्तिमा ९ र बढीमा २६ लाख ७० हजारका दरले बजेट राखिएको छ। डिलासैनी गाउँपालिकामा सिँचाइपछि सडकमा बढी बजेट छुट्याइएको छ। पूर्वाधार कार्यालयले निर्माण गर्ने १३ सडक निर्माण गर्न ५ करोड बजेट विनियोजन गरिएको छ।

यस्तै, सहरी विकास तथा भवन कार्यालय निर्माण गर्न थप तीन सडकका लागि ७५ लाख बजेट विनियोजन गरिएको छ। डिलासैनी गाउँपालिकामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले कार्यान्वयन गर्ने गरी २१ वटा खानेपानीका योजनामा ३ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ। खानेपानीको थप दुई योजनाका लागि ४० लाख र ८ लाख विनियोजन गरिएको छ।

खानेपानी योजनामा कम्तिमा ६ लाख र बढीमा २५ लाख बजेट छ। बृहत् खानेपानी योजनाका लागि भने २५ लाख मात्र बजेट विनियोजन गरिएको छ। भू–तथा जलाधार कार्यालयले कार्यान्वयन गर्ने २० वटा टुक्रे योजनामा २ करोड १७ लाख बजेट राखिएको छ। पहिरो नियन्त्रण, लिफ्ट सिँचाइ योजना, तटबन्ध जस्ता बढी बजेट आवश्यक हुने योजनामा ३ लाख, ५ लाख र बढीमा १० लाख बजेट विनियोजन गरिएको छ।

सरकारले डिलासैनीमा सहरी विकास तथा भवन कार्यालय अन्तर्गतका ८ योजनामा एक करोड ५५ लाख बजेट छुट्याएको छ। विद्यालय भवन, स्वास्थ्य कार्यालय र विद्यालय घेरवार गर्न १० लाखका दरले ३० लाख बजेट छुट्याइएको छ। प्रदेश सरकारले सशर्तका २६ योजनामा २ करोड २८ लाख ५० हजार बजेट विनियोजन गरेको छ। सशर्तका योजनामा मन्दिर निर्माण, पर्यटन पदमार्ग, पहिरो नियन्त्रण र पानीको मुहान संरक्षण जस्ता शिर्षकमा ५ लाखदेखि १० लाखसम्म बजेट राखिएको छ। प्रदेश सरकारले डिलासैनी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ६ मा सबैभन्दा बढी योजना हालेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस