महाकाली सिँचाइ निर्माणमा ७ अर्ब ६८ करोड खर्च, ७८ प्रतिशत काम अधुरै
धनगढीः राष्ट्रिय गौरवको महाकाली सिँचाई आयोजना निर्माण सुरु भएयता ७ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ।
तर १८ वर्षअघि काम सुरु भएको उक्त आयोगनाको भौतिक प्रगति भने २२ प्रतिशत मात्र देखिएको छ। ७८ प्रतिशत काम अझै हुन सकेको छैन्। २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ। ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म ७ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ।
हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन्। २८ किलोमिटर मूल नहरमा पानी प्रवाह हुन सकेको छैन। महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भारतीय पक्षले औपचारिक उद्घाटन नभई पानी दिन नसकिने अडानका कारण निर्माण सम्पन्न भएको नहरमा पानी नछाडिएको बताए।
इन्जिनियर सुवेदीकाअनुसार आयोजनाको २२ प्रतिशत मात्र काम पुरा भएको छ। २०७७ माघ २९ गतेको निर्णयनुसार २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ। संघीय सरकारले चालु आर्थिक वर्षका लागि दुई अर्ब बजेट विनियोजन गरेको छ। आयोजनाको २८ दशमलव ८ किलोमिटरदेखि ४८ दशमलव तीन किलोमिटरसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँचवटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो।
तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, वन क्षेत्र र मुआब्जाका कारण निर्माण कार्यले गति लिन नसकेको आयोजना कार्यालयको दाबी छ। आर्थिक वर्ष २०६२/६३ मा काम सुरु भएको आयोजनाको हालसम्म २८ दशमलव ९ किलोमिटर मूल नहर निर्माण भएको छ।
मूल नहर बनेका क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन्। शाखा नहर निर्माण भएमा आगामी वर्षभित्र पाँच हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजना कार्यालयले जनाएको छ। एक सय ५१ किलोमिटर लामो मूल नहर सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ।