धनगढीमा गरियो ट्री–गार्डसहित ११ हजार ३ सयको संख्यामा वृक्षारोपण
धनगढीः धनगढी उपमहानगरपालिकाले हरियाली धनगढी अभियानलाई तीव्रता दिएको छ।
उपमहानगरपालिकाले हालै मात्र धनगढी–५ स्थित डिभोटी होटल अगाडी निसर्ग अस्पतालदेखि दाहाल चोकसम्म ट्री–गार्डसहित वृक्षारोपण गरेको छ। सो सडक किनारको पैदल मार्गमा ५० वटा विरुवा ट्री–गार्डसहित वृक्षारोपण गरेको छ। धनगढीलाई हरियाली प्रवद्र्धन गर्ने र पर्यावरणमैत्री बनाउने उद्देश्यले ‘हरित धनगढी’ अभियानअन्तर्गत बृक्षारोपण अभियानलाई तीवरूपमा अघि बढाइएको छ।
धनगढीलाई पर्यावरणमैत्री बनाउन प्लाष्टिक बेचबिखन गर्न समेत प्रतिबन्ध लगाइएको छ। यो अभियानअन्र्तगत उपमहानगरपालिकाले हालसम्म ११ हजार ३ सय बिरुवा रोपिसकेको छ। ‘हरित धनगढी’ अन्तर्गत धनगढी हरियाली प्रवद्र्धन कार्यक्रम २०७९ फागुनबाट सुरु गरिएको धनगढी उपमहानगरपालिका जिन्सी शाखा प्रमुख कृष्णराज जोशीले बताए।
उपमहानगरपालिकाले हालसम्म धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, धनगढी विमास्थल सडक, चक्रपथ सडक, क्याम्पसरोड र मोहना आर्यघाट क्षेत्रमा ट्री–गार्डसहित वृक्षारोपण गरेको छ। आफ्नै जनशक्तिबाट रोपिएका बिरुवाको हेरचाह र सिँचाइ समेत गर्दै आएको उपमहानगरपालिकाले हरियाली प्रवद्र्धन अभियान सञ्चालन गरेर बृक्षारोपणका लागि जनस्तरबाट हालसम्म एक करोड ७७ लाख रुपैयाँसमेत संकलन गरेको छ।
सबैभन्दा बढी ५० लाख बराबर सुर्य नेपाल, ५० लाख बराबर जाउलाखेल डिष्टबरी र १० लाख बराबर नवजीवन सहकारी संस्थाले सहयोग गरेका छन्। वृक्षारोपण कार्यक्रमलाई उपमहानगरपालिकाले ‘हरित धनगढी’ नाम दिएको छ। ट्री–गार्डमा कुनै संघ–संस्था तथा ब्यक्तिले आफ्नो नाम राख्न चाहेमा उपमहानगरपालिकाले प्रति ट्री–गार्ड पाँच हजार रुपैया लिने गरेको छ।
सुन्दर र पर्यावरणलाई जोगाउन उपमहानगरपालिकाले नागरिकलाई सँगसँगै जोडेको छ। बिरुवा, ट्री–गार्ड र बिरुवाको हेरचाह उपमहानगरपालिका आफैले गर्दै आएको छ। सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित सुरु गरिएको कार्यक्रममा पछिल्ला दिनमा नागरिक तथा विभिन्न संघ/संस्थाको सहभागिता समेत बढ्दै गएको छ।