सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरी वनमा चिल्ड्रेन पार्क निर्माणको नाममा १२ लाख स्वाहा

२०८१ असोज १२, ०६:३२ कमल सावद

धनगढीः कैलालीको धनगढीमा चिल्ड्रेन पार्क निर्माणको नाममा १२ लाख रुपैयाँ खर्च गरिएको छ।

धनगढी उपमहानगरपालिकाको योजनामा शिवपुरी सामुदायिक वनमा चिल्ड्रेन पार्क निर्माणको नाममा सो रकम खर्च गरिएको हो। पाँच वर्षअघि क्षेत्रीय सहरी विकास धनगढीको १२ लाख लगानीमा शिवपुरी सामुदायिक वनमा घेरबार, दुईवटा प्रवेशद्धार र पार्ककाका लागि संरचना निर्माण गरिएका थिए। तर, ती संरचनाहरु पाँचदेखि अलपत्र छन्।

धनगढी उपमहानगरपालिका–४ को शिवपुरी सामुदायिक वनमा निर्माण गरिएका संरचना यतिबेला अलपत्र अवस्थामा छन्। शिवपुरी सामुदायिक वनका अध्यक्ष कृष्ण पनेरुले बजेट अभावका कारण चिल्ड्रेन पार्कको काम पूरा नभएको बताए। उनले भने, ‘बजेट आएन।  पहल गर्दागर्दै थाकेका हौ। अहिलेसम्म केही पनि भएको छैन।

नगरबाटै सुरु भएको हो। एक पटक गेट लगायो। घेरबार गरिएको छ। त्यसपछि कुनै योजना छैन। यो बनाएको पाँच÷छ वर्ष भयो।’ शिपुरी सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकारसमेत नलिएरै भौतिक संरचना निर्माण गरिएको थियो। वन क्षेत्रमा गरिएको घेरबारले वन क्षेत्र भने सुरक्षित भएको छ। तर, वनभित्र निर्माण गरिएका अन्य पार्कका संरचनाहरु भने जीर्ण छन्।

धनगढी उपमहानगरपालिका र क्षेत्रीय सहरी विकासको लगानी बालुवामा पानी जस्तै भएको छ। चिल्ड्रेन पार्कको नाममा १२ लाख रुपैयाँ सक्ने काम मात्र भएको छ। पनेरुले भने, योजनाहरु थप आउछ। पर्यापर्यटनको बजेट आएपछि बन्छ भनेका हुन। तर, बजेट आएको छैन। नगरपालिकाले बनाएका संरचनाहरु अलपत्र छन्।’ शिवपुरी धामदेखि पश्चिम र शिवपुरी सामुदायिक वनदेखि पूर्वी क्षेत्रको वनमा पार्कका केही संरचनाहरु निर्माण गरिएका छन्।

चिल्ड्रेन पार्कका लागि आवश्यक संरचना निर्माणको काम भने अझै पुरा हुन सकेको छैन्। बनेका भौतिक संरचनामा १२ लाख रुपैयाँ खर्च भइसकेको छ। साथै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट समेत सरसफाइको नाममा थप रकम खर्च भएको छ। तर, पार्क क्षेत्रको पश्चिम र दक्षिण क्षेत्रको प्रवेशद्धवार लगायतका संरचना जीर्ण अवस्थामा छन्।

प्रवेशद्धवारमा ताला लगाइएको छ। धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दीजराज भट्टले क्षेत्रीय सहरी विकासबाट संरचना निर्माण गरिएको बताए। उनले भने, ‘क्षेत्रीय सहरी विकास आयोजनाको कार्यक्रम हो। काम रोकिएको छ। जग्गा घेरिएको छ। एक पटक प्रधानमन्त्री स्वरोजगारबाट सरसफाइ भएको छ। १२ लाख जती खर्च भएको हो।’

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस