सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १०२ सडक निर्माण गर्न प्रदेश सरकारबाट ६३ करोड बजेट विनियोजन

२०८१ असोज १०, ०६:३५ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा एक सय २ सडक निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ।

चालु आर्थिक वर्षका लागि १०२ सडक निर्माण गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको हो। निर्माणाधीन मुख्य सडकबाहेक धनगढीका अन्य  सडकमा कम्तिमा २० लाख र बढीमा २ करोडसम्म बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि प्रदेशको दुई निर्वाचन क्षेत्र रहेको धनगढीमा सडक पूर्वाधारका लागि ६३ करोड ६ लाख बजेट छुट्याएको छ।

चालु आर्थिक वर्षमा १०२ सडक योजनाका लागि बजेट विनियोजन गरिएको भए पनि गत अर्थिक वर्ष नै ठेक्कामा गएका क्रमागत सडकहरूमा मात्रै एक करोड तथा सोभन्दा बढी बजेट छुट्याइएको छ। अधिकांश नयाँ सडकहरूमा २० लाख, २५ लाख र ५० लाखसम्म बजेट विनियोजन गरिएको छ। यो वर्ष मुख्य सडक धनगढीका लागि १० करोड ५० लाख बजेट विनियोजन गरिएको छ।

यस्तै, धनगढी–१ त्रिवेणी सडक शैलेश्वरी कलेज हुँदै हुलाकी सडक जोड्ने बाटो गत वर्ष नै टेण्डरमा गएको र यो वर्ष दुई करोड बजेट छुट्याइएको छ। धनगढी–२ पुरानो भन्सार सडक तिल्केतालदेखि हुलाकी सडकसम्मको बाटोमा एक करोड ४० लाख, धनगढी–३ नेश्नल मार्ग र सौराई होटेलदेखि वीरेन्द्र चोकसम्मको सडक निर्माणका लागि एक करोड ५० लाखका दरले बजेट विनियोजन गरिएको छ।

यसैगरी धनगढी–८ भगत चोकदेखि धनगढी–१२ जुगेडा सडकमा पनि एक करोड ५० लाख, धनगढी–२ रुवस सडक तिनकुने चोकदेखि हुलाकी सडक स्तरोन्नतिका लागि एक करोड २० लाख, धनगढी–४ शिवपुरी चोकदेखि तुल्सी चोक सडकमा एक करोड ५० लाख, ६ लेन सडक यातायात चोकदेखि फाफ्ला जाने सडक स्तरोन्नति गर्न समेत एक करोड ५० लाख बजेट विनियोजन भएको छ।

धनगढी–६ बिजुलीया शान्ति टोल जोड्ने नपधरिया खोलामा पक्की पुल र सडकका लागि एक करोड, पुरानो भन्सार सडकका लागि एक करोड ५० लाख, टेम्पल रिसोर्ट हुँदै वडा नम्बर ४ कार्यालय जाने सडकमा एक करोड ९० लाख,  नैनादेवी मन्दिर– पुरानो हसनपुर सडकमा ७० लाख, सामुदायिक प्रहरी पिपल चौतारादेखि बोराडाँडी हुँदै फाफ्ला रिङरोड सडकमा एक करोड ९० लाख, धनगढी–११ बहिरा स्कुलदेखि दक्षिणकाली टोल सडकमा ९० लाख, धनगढी–१३ मैदा मिलदेखि हिमाली टोल–कैलाली गाउँ प्रहरी पोस्ट–ढुङ्गे बजार सडकमा ९० लाख र धनगढी–८ कैलाली क्याम्पस जाखैर ताल सडकमा ९० लाख बजेट विनियोजन भएको छ।

धनगढी–१ रेडक्रसदेखि शारदा मावि हुँदै सहिद गेट जाने सडकसम्म बाटो निर्माण गर्न ७५ लाख, शिवपुरी धाम सडकमा ६० लाख, धनगढी–३ दिपेन्द्र मार्गमा ५० लाख, केराबारी मार्गमा ६० लाख बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले गत वर्ष पहिलो पटक बजेट विनियोजन भएर ठेक्का सम्झौता भई निर्माणको चरणमा रहेका सडक योजनामा मात्रै ५० लाखभन्दा बढी बजेट छुट्याएको छ। नयाँ योजनामा भने २० देखि ४० लाख विनियोजन गरेको छ।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस